Logo

सहकारी ठगी प्रकरणः समितिले प्रधानमन्त्रीलाई सोधेरमात्रै प्रतिवेदनलाई पूर्णता दिने



काठमाडौं, २९ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । समितिले आज (शनिबार) साँझ प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

छानविन समितिको सभापतिमा नेकपा (एमाले) का नेता तथा सांसद सूर्य बहादर थापा क्षेत्री छन् । समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलगातसँग छलफल गरेको थियो । साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङसँग पनि छलफल गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिएपछि छानविनका लागि समिति बनेको थियो ।

अहिले कांग्रेस सत्तामा पुगेको अवस्थामा उपसभापति धनराज गुरुङ र अर्को सत्तारुढ दल नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा जोडिएको घटना बाहिर आइरहेको छ । यस्तो अवस्थामा छानविन समितिले प्रतिवेदन सार्वजनिक गरिरहँदा धेरैको मनमा आशंका जन्मिएको छ ।



प्रतिक्रिया दिनुहोस्