Logo

केयर गिभर ट्रेनिङ सेन्टरहरुले नक्कली सर्टिफिकेट बेचिरहेको युवराज सफलको आरोप, अनुमति खारेज गरिनुपर्ने माग



काठमाडौं, २९ भदौ । नेपाल समाजवादी मोर्चाले विनापूर्वाधार सेटिङ र आर्थिक चलखेलको आधारमा सीटीईभीटीबाट मान्यता दिएका केयरगिभर सेन्टरहरुको अनुगमन तथा निरीक्षण गरी तिनीहरुको अनुमति खारेज हुनुपर्ने माग राखेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मोर्चाले त्यस्ता प्रशिक्षण केन्द्रले सर्टिफिकेटमात्रै विक्रि गर्ने गरेको भन्दै अनुगमन र कारबाहीको लागि सरकारको ध्यानाकार्षण गराएको हो ।

भौतिक पुर्वाधार र स्रोत साधन नभई केयर गिभर प्रशिक्षण केन्द्रहरुलाई सम्बन्धन दिइएको बारेमा पनि आवश्यक छानविन हुनुपर्ने मोर्चाको माग छ । मोर्चाले सरकारले इजरायलमा केयर गिभर पठाउने सन्दर्भमा आह्वान गरेको विज्ञापन खारेज गरी नयाँ ढंगले खोलिनुपर्ने, केयर गिभरको रुपमा ईजरायल गएका नेपाली केयर गिभरहरुलाई इजरायल सरकारले तालिम नदिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेको छ ।

केयरगिभर सेन्टरको नाममा नक्कली काम गरिरहेकाहरुमा ईशा हेल्प लाइन ट्रेनिङ एण्ड रिसर्च सेन्टर, केयर गिभर स्कर्डिमिया, भ्याली होम केयर, ओरिण्टेल केयर गिभर ट्रेनिङ सेन्टर, साकुरा मेनपावरलगायत रहेको मोर्चाको दाबी छ ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले अहिले सिटिइभिटीमा १८० भन्दा बढी केयर गिभर ट्रेनिङ्ग सेन्टर दर्ता रहेको बताए । उनले ती ट्रेनिङ्ग सेन्टरसँग भवन, अभ्यास गराउने ठाउँ र ल्याव नै नरहेको बताए । साथै नक्कली सर्टिफिकेट किनबेचसमेत भइरहेको उनले बताए ।

‘लाखौं बुझाएर सिटिइभिटीमा दर्ता गरे । दर्ता गरेर आइसकेपछि ६० घण्टा सिकाउने अनि २९० घण्टा सिकाएका हौं भनेर प्रमाणपत्र दिने काम गरियो । ३० हजारमा केयर गिभरको प्रमाणपत्र खरिदविक्री भएको हामीले आवाज उठाउँदा सरकारले छानविन गरिरहेको छ । समग्रमा छानविन गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्