Logo

उपसभामुख रानालाई यति ठूलो सजाय दिनु उचित हुँदैनः प्रचण्ड



काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका हुन् ।

‘जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ,’– पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको नाम सिफारिस भएको बताए । उनले ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने बताए ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुनेसमेत बताए । ‘अहिले एमाले नेतृत्वले हिंसा शब्द जोडेर माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने, त्यसको भ्रष्टीकरण गर्ने उद्देश्यले गरेको हुनाले त्यो उहाँहरुले सच्याउनुपर्छ । हाम्रो विरोध जारी रहन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्