Logo

रास्वपा र जनमतलाई सिटौलाको आग्रहः जनताको लागि उठेको हो भने कांग्रेसको छाता र विचारमा आउनुस्



काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई कांग्रेसको छाता र विचारमा आउन आग्रह गरेका छन् । आज (शनिबार) १११औं विपी जयन्तीको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दललाई कांग्रेसको छाता र विचारमा रहेर आफ्नो बाटो हिँड्न आग्रह गरेका हुन् । नेता सिटौलाले नयाँ दलका नेताहरुलाई उत्ताउलो भएर नहिँड्नसमेत आग्रह गरे । उत्ताउलो भएर अरुलाई गाली गर्दा आफ्नै कद घट्ने नेता सिटौलाको भनाइ छ ।

‘नयाँ पार्टीको बारेमा मेरो आलोचना केही छैन । नयाँ पार्टीहरु बनेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी आदि निस्किएका छन् । उहाँहरुलाई त शुभकामना दिने गरेको छु मैले । तपाईँहरु साँच्चै जनताको लागि उठेको हो भने कांग्रेसको छातामा बस्नुस्, कांग्रेसको विचारमा आउनुस् । तपाईँ कांग्रेसको विचारमा रहेर आफ्नो बाटो हिड्नु्स् । तपाईँहरु बढेकोमा, चुनाव जितेकोमा हाम्रो कुनै गुनासो छैन । तर, उत्ताउलो भएर नबोल्नुस् । संयमित भएर बोल्नुस्, आफ्नो कद आफैं नघटाउनुस् । अर्कोलाई गाली गरेर अर्को कमजोर हुँदैन । आफैं कमजोर हुनुहुन्छ,’– उनले भने ।

साथै, नेता सिटौलाले संविधान जारी भएपछि आजको दिनसम्म आइपुग्दा धेरै खुसी हुनुपर्ने आफूलाई नलागेको टिप्पणी गरे । तर, पनि देश कांग्रेसबाहेक अरु कसैले बनाउन नसक्ने उनको दाबी छ । ‘हामीले नै यो देश बनाएनौं भने बनाउने अर्को कोही पनि छैन । कांग्रेसले नै यो समाजमा उत्साह, हौसला भर्न सकेन भने अर्को कोही पनि छैन । अरु पार्टीलाई बाटो देखाउने पनि हामी नै हो । हामी चाहे चुनाव हारौं, जितौं, प्रधानमन्त्री बनौं या नबनौं, यो देशलाई बाटो देखाउने कांग्रेस हो । त्यो बाहेक अरु कोही जन्मिएको छैन ।’



प्रतिक्रिया दिनुहोस्