Logo

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट



काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् । नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिका बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको बताए ।

प्रधानमन्त्री ओलीले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए । प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताए ।

‘बाल्यकालदेखि नै बालबालिकाले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिका अभिभावकबिहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘उनीहरूले आफ्नो नैसिर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।’



प्रतिक्रिया दिनुहोस्