Logo

सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचार गर्ने थप ठाउँ कब्जा गर्न भनेको कुरा प्रष्ट भएको बताएका छन् । आज (आइतबार) पोष्टबहादुर बोगटीको १०औं स्मृति दिवसका सन्दर्भमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको सरकार बनेको समयमा आफूहरुले लगाएको आरोप पुष्टि भएको बताएका हुन् ।

साथै, अहिले सत्तारुढ दलका नेता र सांसदहरु सहकारी ठगी प्रकरणमा जोडिएको विषय बाहिर आइरहेको उनले बताए । उक्त प्रकरणलाई माओवादीले र स्वयं नेपाली जनताले पनि ध्यानपूर्वक हेरिरहेको उनले बताए । ‘अहिले नयाँ सहकारीका प्रकरणहरु आइरहेका छन् । सत्तारुढ दलका नेताहरु, सांसदहरुले अहिले विभिन्न प्रकारको जालझेल गरेर सहकारी ठगीमा संलग्न भएको देखापरिराखेको छ । अब हेर्नुछ, ती नयाँ सहकारी प्रकरणमा देखा परेका सत्तारुढ दलका नेता र सांसदहरुलाई के गरिन्छ ? जनताले अत्यन्तै ध्यानपूर्वक हेरिरहेका छन् । कुनै गडबढ सहन गर्न सक्दैन,’– उनले भने ।

साथै, माओवादी जनयुद्ध र उपलब्धीलाई होच्याउने गरी सत्तारुढ दलबाट संसद्मा अभिव्यक्ति दिइएको उनले बताए । माओवादीले त्यसको भत्र्सना गर्दै हामीले प्रतिवाद गरिरहेको उनले बताए । हिंसा शब्द नै कहिले पनि संसद्मा प्रयोग हु्नसक्दैन भन्ने माओवादीको भनाइ नरहेको उनले बताए । ‘हिंसा शब्द असंसदीय भनेर हामीले भनेका होईनौं । तर, त्यहाँ अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेल्ने माओवादी जनयुद्धको, सशस्त्र संघर्षलाई अपमान गर्न खोजियो । त्यसको विरुद्ध हामीले सदनमा आवाज उठाइरहेका छौं,’– उनले भने ।

माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपाको डकुमेन्टमा ‘जनयुद्धले मुख्य निर्णाय भूमिका खेल्यो’ भनेर उल्लेख गरेको पनि उनले स्मरण गराए । त्यस्तै, एमाले नेता योगेश भट्टराईले समेत तत्कालीन समयमा जनयुद्धको ठूलो प्रसंशा गरेर मिडियाहरुलाई अन्तरवार्ता दिएको भिडिओ आफूहरुसँग रहेको उनले बताए । योगेशले आफ्नो सत्ता स्वार्थका लागि जेपनि बोलेको उनको भनाइ छ ।

साथै, भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको सम्बन्धमा राखिएको हदम्याद राखिन हुँदैन भनेर माओवादीले नै अडान लिएको उनले बताए । माओवादी सकारात्मक संविधान संशोधनको पक्षमा रहेको उनले बताए । ‘हामी सकारात्मक हिसाबले संविधान संशोधन गर्ने पक्षमा आफैं छौं । संविधान संशोधन गर्ने हो भने भइरहेका उपलब्धीको रक्षा गर्दै भएका कमीकमजोरीलाई सच्याउने गरी संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी दृढ छौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्