Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतिर सोझिएपछि प्रधानमन्त्रीबाट हटाइयोः प्रचण्ड



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जब नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु जो फरार थिए, ती फरार अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरीबन्धु टी स्टेटको बारेमा अदालतको फैसला समेतको आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु–सुई चाहीँ बुढानीलकण्ठ र बालकोटमा सिधै सोझियो । रातारात षड्यन्त्रपूर्वक ढंगले संसारमा हुँदै नहुने गरी सरकार बनाइयो,’– प्रचण्डले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि राजनीतिक सत्ता समीकरणमा फेरबदल आएको थियो । बेचनले नेपाली कांग्रेसकी नेतृ एवं हालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पोलेको धेरैको आकलन थियो । प्रचण्डको पनि त्यतैतर्फ अभिव्यक्ति सोझ्याएका छन् ।

प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो गर्न खोज्दाखोज्दै भ्रष्टहरुले नदिएको बताए । उनले यो कुरा जनताले पनि बुझेको बताए । माओवादी नेपाली जनताको भरोसाको पार्टी बन्ने उनको दाबी छ ।File Photo



प्रतिक्रिया दिनुहोस्