Logo

सहकारी ठगीमा धनराजमाथि छानविन हुनुपर्छ, पार्टीको छेकबार छैनः कांग्रेस प्रवक्ता महत (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले उपसभापति धनराज गुरुङमाथि छानविनका लागि पार्टी तयार रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धनराज स्वयंले पनि आफ्नोबारेमा छानविन होस् भनिसकेको बताउँदै उनले कसैलाई शंका लागेको खण्डमा छानविनका लागि कांग्रेस खुल्ला रहेको बताएका हुन् ।

‘धनराजले संसद्मा बोल्नुभएको छ, म निर्दोष छु । तर, यो छानविन होस् भनेर भनेका छन् । हामीले पनि त्यही भनिरहेका छौं । कहीँ कसैलाई लाग्छ र समस्या छ भने छानविन संयन्त्र छ । त्यहाँ कसैको छेकबार छैन, छानविन गरेर दुधको दुध, पानीको पानी गरे हुन्छ,’– उनले भने ।

कांग्रेस उपसभापति धनराज मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत दुरुपयोगमा मुछिएका छन् । उनी र उनकी पूर्वश्रीमती ज्योति गुरुङले सो रकम अपचलन गरेको आरोप छ । ज्योति मितेरी सहकारीको प्रबन्ध निर्देशक रहेको बेला १२ करोड ५० लाख हिनामिना भएको आरोप छ ।

अहिले ज्योति र धनराजबीच सम्बन्धविच्छेद भइसकेको छ । धनराज र ज्योतिबीचको सम्बन्धविच्छेदलाई धेरैले सहकारीको हिसाब मिलाउनका लागि रचिएको प्रपञ्चको रुपमा लिएका छन् । धनराजले २०७६ सालमा सम्बन्धविच्छेद गरेको भनिएता पनि २०७७ सालमा सोही सहकारीबाट १२ लाख ऋण लिँदा उनले श्रीमती ज्योतिलाई नै जमानी राखेका छन् । उनले सो ऋण मागपत्रमा ज्योतिसँगको सम्बन्ध श्रीमती भनेर खुलाएका छन् ।

त्यस्तै, गत २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिँदा धनराजले श्रीमतीको नाम ज्योति गुरुङ नै राखेका छन् । २०७६ सालमै सम्बन्धविच्छेद भएको अवस्थामा ०७९ को उम्मेदवारी फारममा उनले श्रीमती ज्योति गुरुङ नै उल्लेख गर्नुले पनि उनीहरुबीच सहकारीको हिसाबकिताब मिलाउने प्रयोजनका निमित्त मात्र सम्बन्धविच्छेद भएको कुरा पुष्टि गर्दछ ।



प्रतिक्रिया दिनुहोस्