Logo

माओवादीले संसद्मा प्रधानमन्त्री ओलीलाई बोल्न दिने, अरु कामकारबाही अगाडि बढ्न नदिने चेतावनी (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम रहेकाले प्रधानमन्त्रीलाई बोल्न दिइने बताएका हुन् ।

उनले संसद्को अरु कामकारबाही भने आफूहरुको माग सुनुवाइ नभएसम्म अगाडि नबढ्ने उनले बताए । प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यतालिका रहेको छ ।

‘अरु विषय हामी अगाडि बढ्न दिँदैनौं । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रमबारे नेपाली जनतालाई जानकारी दिने कार्यक्रम रहेको हुँदा त्यो कार्यक्रम हामी रोक्दैनौं । प्रधानमन्त्रीले के बोल्नुहुन्छ ? त्यो उहाँको कुरा हो । उहाँले आफ्ना कुरा राख्न सक्नुहुन्छ । हामीले आफ्ना कुरा राख्न समय माग्छौं । त्यसपछि प्रधानमन्त्रीले बोल्नुहुन्छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा न्यायसंगत नरहेको बताए । वर्तमान सत्ता गठबन्धन उपसभामुख रानाविरुद्ध महाअभियोगसम्मको निर्णयमा पुगेर ब्याक हुनुपरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्