Logo

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातले देखाएकाले थप छानबिन गर्न सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले लेखी पठाउने भएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङको संलग्नता रहेको कागजात पाइएको हो ।

धनराज दम्पतीले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गरेका थिए । तर, २०७७ फागुन ३ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेका थिए ।

सहकारी छानबिन समितिले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले सभामुख देवराज घिमिरेलाई सो प्रतिवेदन बुझाउने कार्यसूची रहेको छ ।

समितिले रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भने दोषी ठहर गरेको छ । उनले विभिन्न सहकारीबाट झण्डै ९० करोड रकम झिकेर गोर्खा मिडिया नेटवर्कमा लगेको देखिएको समितिको ठहर छ । समितिले रविसहित ९ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्