Logo

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक आज दिउँसो १२:४५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा हिउँदे अधिवेसन अन्त्य,प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रले हिंसा शब्दलाई संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान लिएपछि आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो। नेकपा एमालेका नेता योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा माओवादीको सशस्त्र जनयुद्धलाई संसद बैठकमा ‘हिंसा’भनेपछि माओवादीले त्यसको प्रतिकार गर्दै आएको छ। उसले हिंसा शब्द संसद्को रेकर्डबाट हटाउन मागसमेत गर्दै आएको छ।

यस विषयमा सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएको र रेकर्डबाट पनि हटाउन नमिल्ने रुलिङ गरेपछि माओवादी झनै आक्रामक बनेको हो।



प्रतिक्रिया दिनुहोस्