Logo

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाण्डे र निरौलाविरुद्ध उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो ।

प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइ सक्नुपर्नेछ ।

उजुरी समितिको सचिवालयमा वा सिधै इमेल [email protected] मा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ ।उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ । चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ ।

शुक्रबार बसेको न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो।

संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्। सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि अन्य नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस भएको थियो । निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार छँदा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए। तर पछिल्लो समय उनीभन्दा वरीयतामा पछाडि भएकाहरूलाई सर्वोच्चको न्यायाधीश बनाएर उनलाई छाडिएको थियो।

नित्यानन्द सुदूरपश्चिमबाट कांग्रेस कोटामा वकिलबाट उच्चको न्यायाधीश भएका थिए । उनी गृहमन्त्री रमेश लेखकका साँढुभाई हुन् । कांग्रेसका नेताहरुको दवावकै कारण पाण्डे भन्दा वरियतामा अघिरहेका अन्यलाई पन्छाईएको छ । उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।

सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्