Logo

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को आरोपः विपद्को बेला सरकारले पीडितको घाउमा नुनचुक छर्किएर मजाक गर्यो



काठमाडौं, १५ असोज । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले बाढी पहिरोजन्य विपद्को बेला सरकारले पीडितको घाउमा नुनचुक छर्किएर मजाक गरेको टिप्पणी गरेको छ । बाढी पहिरोका कारण ठूलो संख्यामा मानवीय क्षति भएको, कयौं घाइते भएका र कैयौँ जनताले आफ्नो घर र परिवारका सदस्यहरू गुमाएको अवस्थामा सरकारको उपस्थिति नै नदेखिएको महासंघको भनाइ छ ।

महासंघले राष्ट्रको ढुकुटी खर्चेर जम्बो टोलीसहित अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश बाढी–पहिरोको चपेटामा परेर जनता दुःखमा पर्दा कुनै पहल नगरेको, बरु ‘हिमालमा गैँडा, हात्ती र मयुर पाइने’ भनेर भद्दा मजाकसहितको प्रहसनमा समय कटाएको बताएको छ ।

विपद्को समयमा कार्यवाहक प्रधानमन्त्री र रक्षामन्त्रीको समेत कुनै पत्तो नभएको महांिघको ठहर छ । विपद्‌को घडीमा सुरक्षा निकाय परिचालन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले जिउँदै मानिसहरूलाई मरिसकेको घोषणा गर्न भ्याएको भन्दै महासंघले भर्त्सना गरेको छ ।

‘हामी नेपाल सरकार र प्रदेश सरकारहरूको प्राकृतिक प्रकोपको पूर्वसूचनाप्रित मुकदर्शक बन्ने र जनताको जिउधनको क्षति रोक्न कुनै पहल नगर्ने उदासीन गैरजिम्मेवारीपना तथा सरकारमा बसेर उद्धार र राहतमार्फत जनताको घाउमा मलम लगाउनुको सट्टा नूनचुक छर्केर मजाक गर्ने कार्यको घोर निन्दा तथा भर्त्सना गर्दछौं,’– महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले दुःखमा परेका जनताको उद्दारमा खटिएका आम नागरिक र जनसंगठनका नेता-कार्यकर्ताप्रति आभार प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्