काठमाडौं, १५ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मौसम विभागले प्राकृतिक प्रकोपको चेतावनी पहिले नै दिँदा पनि सचेत हुन नसक्दा ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने मौसम विभागको पूर्वानुमान भएपनि सरकारले पूर्वतयारी र सतर्कता अपनाउन नसकेको बताए ।
‘यो प्रकोप मौसम विभागले पहिलादेखि नै चेतावनी दिएको थियो । असार महिनादेखि असोजको १५ गतेसम्म अनुमानित १९ लाख जनता प्रभावित हुन्छन् भन्ने चेतावनी थियो,’– सिटौलालले भने ।
अविरल वर्षापछि अवरुद्ध सडक खुलाउनका लागि राज्यको संयन्त्रसँग आफुहरु पनि दिनरात नभनी खटिइरहेको उनले बताए । राजनीतिक अस्थितरताका कारण यस्ता प्रकारका विपत्तिमा उद्धार, पुनर्स्थापना र राहतको काम हुन नसकेको उनको भनाइ छ ।
‘राज्य पनि खटेको छ । हामी पनि अहिले २४ घण्टै खटेका छौं । नेपालभरीको सडकको अवस्थामा तपाईँ हामी जानकार छौं । यो देशको सडकको अवस्था यस्तो किन भयो ? वास्तवमा भन्ने हो भने राजनीतिक अस्थितरताको कारणले गर्दा पनि काम भएको छैन,’– उनले भने ।
राज्यले रात्री बस नचलाउनका लागि गरेको आग्रहपछि त्यो दिन काठमाडौं उपत्यकाबाट एउटा पनि रात्री बस नछुटेको उनको दाबी छ । वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार पहिरोमा परेर झ्याप्ले खोलामा पुरिएको बस रात्री बस थिएन । ती बसहरु दिनमै छुटे पनि विभिन्न ठाउँमा अवरुद्ध भएको कारण रातिको समयमा त्यहाँ आइपुगेको उनले बताए ।
‘झ्याप्ले खोलाको रात्री सेवाको गाडी होईन । त्यो बुटवलबाट आएको माइक्रोबस दिवामा आएको हो । नारायणघाटबाट दिवामा आएको गाडी हो । पोखराबाट आएको पर्यटकीय गाडी दिवामा आएको हो । रात्री सेवामा हामीले गाडी ल्याएका छैनौं,’– उनले भने ।
विपी राजमार्गको मंगलटारमा अहिले पाँच सय वटा माइक्रोश, टाटासुमो र जिपहरु अलपत्र अवस्थामा रहेको उनले बताए । त्यहाँका मान्छेहरु कतिपय हिँडेर पनि आइरहेको बताउँदै उनले त्यहाँ अहिले ६ सय जना मजदुर अलपत्र अवस्थामा रहेको बताए ।
साथै, तत्काल विपी राजमार्ग पूर्ण रुपमा सुचारु गर्न सकिने अवस्थामा आफूहरुले नपाएको बताए । ‘विपी राजमार्ग तत्काल सञ्चालन हुने वातावरण हामीले बुझेका छैनौं । छ सय मजदुरलाई रेस्क्यू गर्न मैले विशेष अनुरोध गरेँ,’– उनले भने ।
त्यस्तै, रोशी खोलाले ७० वटा टिपर बगाएको उनले बताए । उनका अनुसार देशभरी कति वटा गाडीहरु बाढीले बगायो भनेर तथ्याङ्क आइसकेको छैन ।
साथै, अहिले भाडा बढाउनका लागि अग्रिम टिकट बुकिङ ढिला खोलिएको भन्ने आरोप आफूहरुमाथि रहेको बताउँदै उनले यसमा कुनै गलत नियत नरहेको बताए । यातायात व्यवसायीको माग केवल चाडवाडको समयमा सुरक्षित रुपमा नागरिकहरुलाई गन्तव्यमा पुर्याउने रहेको उनले बताए ।