Logo

बाढी पहिरोले देशै रोइरहेको बेला मुख्यसचिव अर्याल पञ्चेबाजामा उत्सव मनाउँदै



काठमाडौं, १५ असोज । गत असोज १२ गते विहान देशभर भारी वर्षा भइरहेको थियो । रातिदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन कष्टकर बनेको थियो । नदी आसपासका बस्तीहरुमा बाढी पसेको थियो । कतिपय ठाउँमा पहिरो जाँदा मानवीय र भौतिक क्षति भइसकेको थियो । बाढी पहिरोको वितण्डले आक्रान्त बनेका जनता राज्यको उद्दारको पर्खाइमा थिए ।

ललितपुरस्थित नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगायो । यद्यपि राजकी चार वर्षीय छोरी सेर्तुलाई बाहेक अन्य तीन जनालाई केही तल स्थानीयहरुले उद्दार गर्न सफल भए ।

आफू बसेको जस्ताको टहरोबाट खोला बगेर बाहिर निस्कन नसक्ने अवस्था भएपछिमात्रै उनीहरुले थाहा पाएका थिए । बाहिर निस्किएर ज्यान बचाउने कुनै उपाय नभएपछि उनीहरु चार जना सोही टहरोको छानोमा चढेर गुहार मागिरहेका थिए । वारीपारी भएका मानिसहरुले बचाउन विभिन्न प्रयास गरेपनि अन्ततः बाढीले टहरो भत्काएर उनीहरुलाई बगायो । करिब चार घण्टा जस्ताको टहरोको छतमा बसेर गुहार माग्दा पनि उनीहरुले उद्दार पाउन सकेनन् । त्यहाँबाट बगेर केही तल पुगेपछि दुई जनालाई काभ्रेका चणिकलाल तामाङले उद्दार गरे भने एक जना आफैं पौडिएर निस्किन सफल भए । चार घण्टासम्म उद्दारको लागि गुहार माग्दा पनि राजधानीमै सरकारले उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गर्न चासो देखाएन ।

त्यस्तै, धादिङको झ्याप्ले खोलामा पहिरोले बस पुर्दा धेरैले ज्यान गुमाउन पर्यो । भण्डै तीन दर्जनभन्दा बढी मानिसले त्यहाँ ज्याउन गुमाउनुपर्यो । उक्त ठाउँमा अझैं खोजी र उद्दारको कार्य जारी रहेको छ । बाढी पहिरोका कारण अहिलेसम्म २१८ जनाले ज्यान गुमाएको र २७ जना बेपत्ता रहेको बताइएको छ ।

यति ठूलो प्राकृतिक विपत्ति आउँदा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली र स्थायी सरकार भनेर चिनिने निजामती प्रशासनका सर्वोच्च कमाण्डर मुख्यसचिव एकनारायण अर्याल भने कार्यक्षेत्रमा थिएनन् । प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यक्रममा भाग लिन असोज ४ गते नै अमेरिका प्रस्थान गरेका थिए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सम्भावित विपत्तिको बारेमा पूर्व सूचना दिइसकेको थियो । यस्तो अवस्थामा कार्यक्षेत्र छाडेर मुख्यसचिव अर्याल गृह जिल्ला स्याङ्जातिर बधाइ र सम्मान खानमा ब्यस्त थिए । असोज १० गते काठमाडौं छाडेका मुख्यसचिव अर्याल ११ गते गण्डकी प्रदेशले आयोजना गरेको पालिकास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भए ।

भोलिपल्ट १२ गते विहानै प्राकृतिक विपत्तिको घटनाले देश पूरै त्रसित र तहसनहस थियो । विभिन्न राजमार्ग अवरुद्ध भएको, बाढी पहिरोका कारण बस्ती बगाएको, बाढीमा परेका नागरिकको उद्दार हुन नसकेकोलगायतका समाचारहरु सञ्चार माध्यमले प्राथामिकताका साथ प्रकाशन प्रशारण गरेर सरकारको ध्यानाकार्षण गराइरहेका थिए । तर, प्रधानमन्त्री ओली अमेरिकामा भद्दा मजाकसहितको प्रहसनमा रमाइरहेका थिए भने मुख्यसचिव अर्याल पञ्चेबाजासहितको निर्लज्ज स्वागतमा । उनको स्वागतले प्राकृतिक विपत्तिमा परेर मृत्यु भएकाहरुको लाश र शोकाकुल परिवारका सदस्यलाई गिज्याइरहेको भान हुन्थ्यो ।

गत असोज १० गते काठमाडौं छाडेका मुख्यसचिव अर्याल गण्डकी सरकारले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै स्याङ्जाको आँधीखोला गाउँपालिका, वालिङ नगरपालिका, फेदीखोला गाउँपालिकालगायतमा स्थानीय तहमा बधाइ खानमै व्यस्त भए । राष्ट्र सेवक कर्मचारीका सर्वोच्च कमाण्डर रहेका मुख्यसचिव अर्याललाई सिंगो देश रोइरहँदा कुनै प्रवाह नै थिएन । उनी निर्धक्क सानका साथ गृह जिल्लामा सम्मान थाप्न र खादा माला पहिरिनमा तल्लिन थिए ।

अझ लज्जास्पद त के छ भने देशको राजधानी काठमाडौंबाट केही किलोमिटर टाढा रहेको नख्खु खोलामा आएको बाढीमा फसेकाको उद्दार गर्न सरकारले हेलिकोप्टर पठाउन सकेन । मुख्य सचिव अर्याललाई लिन भने सरकारी हेलिकोप्टर स्याङ्जा पुगेको थियो । बाढी पहिरोका कारण सिंगो देश रोइरहँदा उनीभने हेलिकोप्टरमा काठमाडौं सवार भए । जब कि त्यो हेलिकोप्टर उद्दारमा प्रयोग गर्न सकिएको भए धेरैको ज्यान जोगाउन सकिने थियो ।



प्रतिक्रिया दिनुहोस्