Logo

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन प्राधिकरणको अनुरोध



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको बताएको छ । तर, अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यो अवधिमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

साथै कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ ।

विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ ।

साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास जिल्लाका ससाना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान रहेको छ ।

यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आजबानट कोशी र बागमतीसहितका स्थानमा भारी वर्षा हुने भन्दै सचेत रहने आग्रह गरेको छ ।

१८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।



प्रतिक्रिया दिनुहोस्