Logo

कांग्रेस-एमालेले संविधान संशोधन गरेभने बाहुन, क्षेत्री र टाठाबाठामात्रै निर्वाचित हुन्छन्ः वामदेव गौतम



काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले अहिले संविधान संशोधनको आवश्यक्ता नरहेको बताएका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेस–एमालेले भनेझैं समानुपातिक निर्वाचन प्रणाली हटाएर संविधान संशोधन गरियो भने बाहुन, क्षेत्री र टाठाबाठामात्रै निर्वाचित हुने उनको भनाइ छ । संविधान संशोधन नै गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने उनको भनाइ छ ।

‘नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी सिद्धान्त, दर्शन र कार्यक्रम धेरै हिसाबले फरक छन् । फरक–फरक पार्टी बनाउने, जनताको बीचमा गएर मत माग्ने । जनताले कसरी चिन्ने । संविधान संशोधनको प्रचार प्रतिगामी छ । अनिवार्य छ संविधान संशोधन गर्नुपर्ने ? आवश्यक्ताले परिवर्तन हुन्छ । आज समानुपातिक हटाउने भन्ने ठाउँमा गएका छन् । समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमात्रै गर्ने भनिएको छ । यसो गर्दा बाहुन, क्षेत्री, टाठाबाठामात्रै निर्वाचित भएर आउने हुन्छन्,’– उनले भने ।

अहिलेको संविधानले सिंगो देशका जनताको प्रतिनिधित्व सरकार बनाउने ठाउँमा हुनेगरी परिकल्पना गरेको भन्दै उनले सुधार गर्ने नै हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने उनले बताए । तर, समानुपातिक प्रणाली हटाउन नसकिने उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्