Logo

हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्दै, पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने



काठमाडौं, १६ असोज । हामी नेपाली ग्लोबलले ट्रष्टी गठन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामाले संस्थालाई बलियो बनाएर लामो समय अगाडि बढाउनका लागि ट्रस्टी बनाउने निर्णय गरेको बताएका हुन् ।

आगामी अक्टोबर ५ (असोज १९ गते) कार्यक्रम राखिएको उनले बताए । अक्टोबर ५ मा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन कोरिया, जापान, अष्ट्रेलिया, युरोपलगायतबाट पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष लामाले बताए ।

संस्थाको मूल उद्देश्य संसारमा रहेका सबै नेपालीहरुलाई एकतामा बाँध्ने रहेको बताइएको छ । संस्था राजनीति, धर्म, जाति र वर्गबाट स्वतन्त्र संगठन रहेको पनि बताइएको छ ।

हामी नेपाली ग्लोबलका युएई अध्यक्ष दिल लामा वाईवाका अनुसार काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा हुने उक्त कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने छन् । हामी नेपाली ग्लोबलको अहिले विभिन्न ४१ देशमा शाखा रहेको पनि बताइएको छ ।

आगामी अक्टोबर ५ मा गठन हुने ट्रष्टीलाई विभिन्न देशमा रहेका शाखाबाट हुने कामको नियमन, नियन्त्रण र कारबाहीसमेतको अधिकार हुने बताइएको छ ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा यस संस्थाले काम गरिरहेको युएइका अध्यक्ष लामाले बताए । अध्यक्ष लामाका अनुसार नेपालमा २०७५ सालमा स्थापना भएको यस संस्थाले कोरोना महामारी, भूकम्पलगायतका दैवी विपत्तिमा परेकाहरुको उद्दार, राहत र पुनर्स्थापनामा पनि योगदान पुर्याइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्