Logo

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता हुने, उपरजिस्ट्रार घिमिरेले भने: म कसैको प्यादा बन्न चाहिनँ



काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ ।

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दाको प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अपहेलनामा दिएको मुद्दा फिर्ता लिने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरेले बार अध्यक्ष घिमिरेविरुद्ध अपहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको बताएका हुन् ।

उनले अदालत खुल्नासाथ आफ्ना भनाइसहित मुद्दा फिर्ता लिन औपचारिक निवेदन दिने बताएका छन् । ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइँ लड्नु भयो । बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अपहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।’

घिमिरेविरुद्धको अपहेलना मुद्दाको पेसी १ कात्तिकका लागि तोकिएको छ । अध्यक्ष घिमिरेविरुद्ध सोमबार अदालतको अपहेलनाको मुद्दा दर्ता भएको थियो । नगरकोटमा आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेको विषयलाई हतारोमा घुसको हिसाब मिलानको विषयसँग जोडिएको अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिपछि घिमिरेविरुद्ध अपहेलनाको मुद्दा दर्ता गरिएको थियो । बारले न्याय परिषद् नियमावली २०७४ को (पहिलो संशोधन २०८०) प्रति असहमति जनाउँदै गैरसंवैधानिक नियमावलीलाई अविलम्ब खारेजको माग गर्दै आएको छ । नियमावलीले नयाँ न्यायाधीश नियुक्ति गर्दा पुराना न्यायाधीशभन्दा वरीयतामा माथि राखिएको भन्दै बारले विरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्