Logo

महाकाली, महालक्ष्मी र महासरस्वतीको आरधना गरेर जौको मात्रै जमरा राख्न संस्कृतिविद् गौतमको सुझाव



काठमाडौँ, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने भनिन्छ ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन् । प्रा.डा गौतमका अनुसार आज महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आरधाना गरी जमरा राखिन्छ ।

‘दीयो, कलश, गणेश स्थापना गरिसकेर भगवती दुर्गा माताको पनि पुजा गर्नुपर्ने हुन्छ । दुर्गामाताको तीन वटा रुप छन् । महाकाली, महालक्ष्मी र महासरस्वती रुप हो । महाकालीले शक्ति प्रदान गर्छिन्, शक्ति प्राप्त गर्नका लागि महाकालीको उपासना गर्नुपर्ने हुन्छ । धन, सम्पत्ति, ऐश्वर्य प्राप्त गर्नका लागि महालक्ष्मीको उपसना गर्नुपर्ने हुन्छ । विद्या, बुद्धि प्राप्त गर्नका लागि महासरस्वतीको पुजा गर्नुपर्ने हुन्छ । यसैगरी तीन वटा देवीको पूजा गरिसकेपछि त्यही जमरा राख्नुपर्ने हुन्छ । जमरा भनेको जौको अंकुर हो । गुहँ, मकै छर्ने होईन, जौ अंकर चाहीँ देवीको असाध्यै प्रिय पुष्प हो,’– उनी भन्छन् ।



प्रतिक्रिया दिनुहोस्