काठमाडौँ, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताएका छन् । आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उनले भने, ‘कुनै पनि घाइतेहरु उपचारबाट बञ्चित हुनुपर्दैन । उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ ।’
उनले विपद्को बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताए । मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने बताए ।
विपद्ले महामारीजन्य रोग निम्त्याउन सक्ने भएकाले शुद्ध खानेपानीका सम्बन्धमा खानेपानी मन्त्रालयसँग संयुक्त बैठक बसिसकेको उननले बताए । उनले बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको बताए । यसका लागि स्थानीय र प्रादेशिक तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
हालसम्म ट्रमा सेन्टरमा २४ जना घाइतेले उपचार गराइसकेका छन् । जसमा १३ जना डिस्चार्ज भइसकेका छन् भने केहीको शल्यक्रिया गरिएको छ । File Photo/RN