Logo

दुई तिहाइको औकातः विपत्तिमा परेका नागरिकलाई गिज्याउने सिंहदरबारको तस्बिर



काठमाडौं, १७ असोज । नागरिक विपत्तिमा परेर ठूलो पीडिमा परेको बेला सरकार वेपत्ता भएको भन्दै आलोचना भईरहेको छ । विपत्तपछिको राहत, उद्धार र पुनस्थापनामा सरकारले कुनैपनितदारुकताको साथ काम गर्न सकेको छैन। यद्यपि सुरक्षा निकायले भने आफ्नो काम गरिरहेको छ । यतिका दिनसम्म पनि पीडितले सरकार गुहारिरहँदा सरकारको नामोनिशानो देखिएको छैन् । अझै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त २० दिनदेखि विदेश शयरमा छिन् ।

जनता पीडामा परेर छट्पटाईरहँदा सिंहदरबारमा भने स्वयं सरकारलाई नै जिज्याउने गरी तस्विर सार्वजनिक भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्रीद्धयको यो भेटवार्ताले भने स्वयंमा सिंहदरबारलाई गिज्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसँघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । ओली सरकारमा सिंह पहिलो वरीयताका मन्त्री हुन् । ओली अमेरिका गएको एक सातापछि मुलुकले एउटा नराम्रो भवितब्य ब्यहोरेको थियो । दुई दिनसम्म अविरल रुपमा परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भयो । २३० जनाभन्दा धेरैले ज्यान गुमाए भने अर्बौंको क्षति भयो । हालपनि झण्डै ३० जना नागरिक वेपत्ता छन् । भने सयौंको संख्यामा घाईते भएका छन् ।

सिंहदरबारमा बसेर मुलुक हाँकिरहेका कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्रालयको कमाण्ड सम्हालेका रमेश लेखकले अन्त केही गर्न नसकेपनि उपत्यकामै रहेको ललितपुरको नख्खु खोला छेउको सुगम बस्तीको विपत्तिसमेत टुलुटुलु हेरेर बसे। सुगम टोलमा बाढीले बिहान ५ बजेदेखि नै जस्ताको छाप्रोलाई घेरेपछि रौतहट घर भएका राजु साहसहित उनका दुई छोरी, भाइ र एक पाहुना गरी ५ जना ४ घण्टासम्म उद्धारको प्रतीक्षामा रहँदा पनि राज्यका कुनै पनि संयन्त्र मद्दतका लागि पुगेनन्  । राज्यसँग घण्टौंसम्म जीवनको भिख मागिरहेका राजु र उनका साथी नख्खुको भेलमा हेलिए । बाढीको रमाईलो हेर्न आएका काभ्रेका चणिकलाल तामाङले ज्यानको बाजी थापेर दुई जनाको उद्धार गरे । एक जना आफै उत्रिन सफल भए भने दुई जना हालसम्म पनि वेपत्ता छन् । चणिकलालले उद्धार गरेका राजु र उनकी छोरी तिनै व्यक्ति हुन्, जसलाई गृहमन्त्री लेखकले उद्धार गर्न सकिएन, सरकारको तर्फबाट सरी भनेका थिए । सरकारले उद्धार गर्न सकिएन भनेर श्रद्धाञ्जली दिएका दुई जनालाई एउटा व्यक्तिले उद्धार गरिरहँदा न त राज्यले आफ्नो उपस्थिति देखायो न त नेतृत्वकर्ताले नै ।

मुलुक विपत्तिको सामना गरिरहँदा अमेरिकामा रहेका ओली व्यक्तिको निजी घरमा नेपाली झण्डा फहराउँदै फेसबुकमा स्टाटस् लेख्न व्यस्त थिए । कार्यवाहकको जिम्मा पाएका सिंह आफ्नो जिम्मेवारीबाट भाग्दै थिए । कार्यवाहकको जिम्मेवारी पाएका र दुई तिहाई बहुमतको सरकारका मन्त्री सिंहका लागि आफ्नो सक्रियता, पहलकदमी, कार्यसम्पादन क्षमता तथा कार्यदक्षता देखाउने यो विपत्ति एउटा सुनौलो अवसर पनि हुन सक्थ्यो । तर, उनी दृश्यमा कतै देखिएनन् । न त कुनै पनि बाढी प्रभावित क्षेत्रमा पुगे, न विपत्तिपछिको उद्धार र राहतको पहलनै लिए ।

सिंहले अरु केही गर्न नसकेपनि कम्तीमा सञ्चारमाध्यममा आएर क्षतिको नियमित विवरण दिने, नागरिकलाई आश्वस्त पार्न प्रयत्न गर्ने, राज्यको तर्फबाट भएका कामको जानकारी दिन, उद्धार तथा राहत कार्यक्रम घोषणा गर्ने, विपत्तिमा परेर घरवास गुमाएका पीडितका लागि अस्थायी आवास, खाद्यान्न र अन्य बन्दोवस्ती गर्ने काम उनले गर्न सक्थे । तर, यी सबै काम गर्न उनले आफ्नो जिम्मेवारी नै सम्झिएनन् । आकस्मिक मन्त्रिपरिषद्को बैठक राख्नसमेत प्रधानमन्त्री ओली अमेरिकाबाट नफर्किउन्जेल कुरेर बसे ।

देशै शोकमग्न बनिरहँदा कार्यवाहक प्रधानमन्त्री सिंह आफैँ हराएजस्तो निरीह देखिए । बरु पार्टीले गरेको कार्यक्रममा खादा र माला पहिरिन पानीमा रुज्दै-भिज्दै कार्यक्रमस्थल पुगे । तर, विपत्तिमा सर्वस्व गुमाएका नागरिक छेउ जाने आँट गरेनन् । विपत्तिमा परेर सबै गुमाएका नागरिकलाई कम्तीमा सरकार छ, राज्य छ भन्ने आभाष दिलाउन सकेनन् । त्यसैले उनी अहिलेसम्म पनि आम नागरिकको नजरमा तारो बनिरहेका छन् ।

पटक-पटक उपप्रधानमन्त्री बनेका र नेपाली कांग्रेसको भावी सभापतिको एउटा बलियो दावेदार रहेका, मुलुक हाँक्न सक्ने सम्भावना बोकेको नेताको रुपमा हेरिएका सिंह विपत्तिमा नागरिकको पीडामा मल्हम लगाउने भन्दा आफ्नी दिदी मुछिएको बालमन्दिरको जग्गा घोटला काण्डलाई सामसुम पार्न लागे । प्रधानमन्त्री पनि देशमा नभएको र नागरिक पनि बाढी पहिरोको त्रासमा रहेको बेला सिंहले आफ्नी दिदी रीता सिंह मुछिएको जग्गा घोटलालाई ढिसमीस पार्ने प्रयास गरेको समचार बाहिरिरहेको छ ।

त्यसो त, मुलुकले भोगेको यो अनपेक्षित विपत्तिको बेला प्रधानमन्त्री ओलीमात्र नभएर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि देशमा थिएनन् । असोज ७ गते पौडेल चीन प्रस्थान गरेका थिए । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा ७ असोजमा चीन पुगेका थिए ।

पौडेल पनि असोज १३ गतेमात्र नेपाल फर्किए । चीन भ्रमण सकेर नेपाल फर्किएका पौडेल पनि विपत्तिको बेला पीडित नागरिक छेउ पुग्न सकेनन् वा चाहेनन् ? कम्तीमा कार्यवाहक प्रधानमन्त्री सिंहसँग समान्वय गरेर विपद्पछिको उद्धार र राहतको कामलाईव्यवस्थित बनाउन सक्थे । तर,उनले त्यो पनि चाहेनन् । बरु ओली अमेरिकाबाट आउने बाटो कुरिरहे । बरु त्योभन्दा आफ्नो सचिवालयमार्फत शोकमा डुबेका जनतालाई समवेदना र मृतकलाई श्रदाञ्जली व्यक्त गरेको स्टाटस् लेखेर । नख्खु भैसेपाटीको आलिसान महलमा बसेर कम्युनिष्ट पार्टीको राजनीति गर्ने अर्थमन्त्री पौडेल हालसम्म पनि घरछेउका बाढीपीडितलाई भेट्नसमेत पुगेका छैनन् । भेट्न आवश्यकसमेत ठानेका छैनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ नेतृत्वको सरकार ढालेर ओली नेतृत्वमा सरकार बनाउँदै गर्दै राजनीतिक स्थायित्व, विकास, सुशासन, समृद्धि र जनतामा आशाको सञ्चार जगाउने भन्दै कांग्रेस-एमाले एउटै मन्त्र जपिरहन्थे । संसद्को दुई ठूला दलहरु मिलेर सरकार बनाउँदा लोकतन्त्र खतरामा पर्ने र संसदीय मूल्यमन्यताविपरीत हुनेभन्दै व्यक्त मतलाई बेवास्ता गर्दै नागरिकलाई डेलिभरी दिनकै लागि गठन भएको भनिएको ओली नेतृत्वको दुई तिहाईको सरकार नागरिकलाई डेलिभरी दिने बेलामै नराम्रोसँग चुकेको छ । दुई ठूला दलनै मिलेपछि सरकार बलियो र प्रभावकारी हुन्छ भन्ने बुझाइमा रहेका नागरिकले सरकारको व्यावहारिक वैधताको आधार उसका क्रियाकलाप र कार्यसम्पादन क्षमता हो भनेर बुझ्नु जरुरी छ ।

देश विपत्तिको भूमरीमा फस्दा, नागरिकले गुहार माग्दै राज्यले टेक्ने लौरो प्रदान गर्न सक्दैन् भने राज्य छ भन्ने आभाष दिलाउन सक्दैन भने एकल होस् वा दुई तिहाईकै सरकारको कुनै अर्थ रहँदैन । बुहमत र अल्पमतको कुनै सरोकार हुँदैन । कसैले आफ्नो मान्दैन । दुईदिने झरीले राज्यको असंवेदनशील चरित्र छर्लङ्ग मात्रै पारेन । दुई तिहाईको सरकारको औकातसमेत देखाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्