Logo

कम्युनिष्टहरुले देश उँभो लाग्न दिँदैनन्, त्यसमा पनि एमाले विकासविरोधी पार्टी होः मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकार बाढी पहिरोमा परेका नागरिकहरुको उद्धारमा गम्भीर बन्न नसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नख्खु खोलामा आएका बाढीमा फसेकाहरुलाई समेत सरकारले हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको टिप्पणी गरेका हुन् ।

विपद्को बेला सरकारले पहिला रेस्क्यू गर्नुपर्नेमा त्यो गर्न नसकेको उनले बताए । सिन्धुपाल्चोकको सन्दर्भमा सरकार संवेदनशील हुन नसक्दा पनि आफू फिल्डमै खटिइएर काम गरिरहेको उनले बताए । नेता बस्नेतले अहिले कुनै पनि ठाउँमा सरकारको राहत नपुगेको बताए । ‘राहत हामीले चाहीँ दिँदै हिँडेका छौं । सरकारको राहत पुगेको छैन । तर, सरकारले मृतकको परिवारलाई दुई लाख दिने घोषणा गरेको छ । त्यो पैसा पनि पुगेको छैन,’– उनले भने ।

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत व्यापार सम्झौता हुनु आफैंमा राम्रो सुरुवात भएको उनले बताए । विगतमा कम्युनिष्टबाट उर्जामन्त्री बनेको कारण यो सम्झौता हुन नसकिरहेको अवस्था रहेको उनले टिप्पणी गरे । कम्युनिष्टहरुले देशलाई उँभो लागउन नदिने र त्यसमा पनि एमाले विकास विरोधी पार्टी रहेको उनको टिप्पाणी छ ।

‘कम्युनिष्टहरुले देशलाई उँभो लगाउने हुँदैहोईन । सिधा कुरा के हो भने अरुण तेस्रो हाम्रा स्वर्गीय नेता गिरीजाप्रसाद कोईरालाले उहिले नै त्यो सम्झौता गरेर नेपाललाई लोडसेडिङ मुक्त गर्न सक्ने अवस्था थियो । अब नेपालले यतिखेर उर्जाको क्षेत्रमा धेरै फड्को मारेर खर्बौं खर्ब रुपैयाँ पैसा कमाउने बेला भइसकेको थियो । यसमा एमालेले घोर विरोध गरेको कारणले गर्दा त्यो समयमा अरुण तेस्रोलाई सञ्चालन गर्न सकेनौं । पछिल्ला दिनमा पनि बीच–बीचमा अवरोधहरु, कहिले के बेच्यो भनेको छ, कहिले के गर्यो भनेको छ, उनीहरुले काम गर्न दिएनन् । कम्युनिष्टहरु भनेपछि विदेशीले विश्वास पनि गर्दैनन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्