Logo

भारत र बंगलादेशसँग मन्त्री खड्काको निरन्तर संवादपछि त्रिपक्षीय सम्झौताको वातावरण बन्योः उर्जा सचिव आचार्य (भिडिओसहित)



काठमाडौं, १८ असोज । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले बंगलादेशसँग विद्युत व्यापारको लागि भएको त्रिपक्षीय सम्झौतामा उर्जामन्त्री दीपक खड्काको ठूलो भूमिका रहेको बताएका छन् । आज (बिहिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्री खड्काले भारत र बंगलादेशसँग निरन्तर संवाद गरेकै कारण सम्झौता हुन सकेको बताएका हुन् । सम्झौतासँग नेपालको विद्युत भारतीय भूमि हुँदै बंगलादेश पुग्ने वातावरण बनेको उनले बताए ।

‘यो वार्ता अलि अगाडि नै हुनेवाला थियो । बंगलादेशमा भएको राजनीतिक अस्थिरताका कारण वार्ता अलिकति पछि सरेको हो । यो वार्तालाई ट्रयाकमा ल्याउनका लागि अहिलेको माननीय मन्त्रीज्यूले ठूलो भूमिका खेल्नुभएको छ ।’ उनले भने, ‘उहाँले सुरुदेखि नै त्रिपक्षीय वार्ता गरेर नेपालमा उत्पादन भएको विद्युत आफूलाई पुगेपछि बेच्नुपर्छ भनेर माननीय मन्त्री लाग्नुभएको हो । भारत र बंगलादेशसँग आएदेखि निरन्तर संवादमा हुनुहुन्थ्यो । यसको फलस्वरुप त्यो वातावरण बन्यो । हामीले त्रिपक्षीय सम्झौता गर्न सफल भयौं । अब नेपालको विजुली भारत हुँदै बंगलादेश पुग्छ ।’

बंगलादेशमा ४० मेगावाट विद्युत बेच्नका लागि गरिएको सम्झौतालाई सिम्बोलिक रुपमा हेरिनुपर्ने उनको भनाइ छ । बंगलादेशमा दिनप्रतिदिन विद्युतको माग बढिरहेको उनले बताए । ‘पछि बंगलादेशले नेपालबाट ५ हजारदेखि ६ हजार मेगावाट विजुली लानसक्ने सम्भावना प्रवल देखिन्छ,’– उनले भने ।

बंगलादेशसँग विद्युत व्यापार सम्बन्धमा यसअघि देखि नै संवाद भइरहेको भएपनि वर्तमान उर्जामन्त्री खड्काले निरन्तर संवाद र फलो गर्दा रिजल्ट आएको उनले बताए । ‘पोलिटिकल लिडरले फलोअप गर्ने, निरन्तर वार्तामा बस्ने, आफ्ना भनाइहरु फर्मल, इनफर्मल भनाइहरु राख्ने कारणले पनि यो सहज भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्