Logo

इजरायलको आक्रमणमा मारिएका नसरल्लाहको शवलाई किन अस्थायी रूपमा गाडियो ?



काठमाडौं । लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा मात्र गाडिएको छ । इजरायलले ठूलो अन्त्येष्टिलाई लक्षित गरि आक्रमण गर्र्ने डरले गोप्य स्थानमा अस्थायी रूपमा शवलाई गाडिएको बताइएको छ ।

“परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रूपमा गाडिएको छ”, गत साताको इजरायली आक्रमणमा नसरल्लाह मारिएपछि स्रोतले भन्यो । ‘इजरायली धम्कीले शोक मनाउनेहरू र उनलाई गाडिएको स्थललाई लक्षित गर्ने डर’ का कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव रहेको स्रोतले बताएको छ ।

शिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रूपमा गाडिने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको तर असफल भएको नाम नखुलाउने शर्तमा एक लेबनानी अधिकारीले बताए ।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीका बीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहका साथै इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए ।

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यलाई मारेको बताएको थियो । नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी छैनन् । सम्भावित उत्तराधिकारीको रूपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दीन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा थिए भनी अमेरिकी र इजरायली सञ्चार माध्यमहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्