Logo

ब्राह्मणदेखि दलितसम्म बेलकोटगढीमा २४५ परिवारले राखे सामूहिक जमरा



काठमाडौं । दशैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा २४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादशैँका लागि स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाति र दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेका हुन् ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यो वर्ष पनि विभिन्न जाति र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिए ।

उनका अनुसार विगतमा जस्तै यो वर्ष पनि ब्राह्मण, क्षेत्री, आदिवासी–जनजाति र दलित समुदायका विभिन्न २२ थरका २४५ परिवारले एकैस्थानमा जमरा राखेका छन् । ‘स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातिका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ,’ पुजारी पौडेलले भने, ‘विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।’

नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ । बडादशैँको अवसरमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधिअनुसार नै यहाँको मन्दिरमा पनि पूजाआरधना गरिन्छ । जमरा राख्ने परम्परा पनि एउटै छ ।

हनुमानढोकाको भन्दा बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा राखिने सामूहिक जमराले स्थानीय क्षेत्रमा जातीय छुवाछुत प्रथाविरुद्धको सचेतनामा उल्लेख्य योगदान पुगेको बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङको भनाइ छ ।

उनका अनुसार मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि कुतवाली उठ्न छाडेपछि नियमित पूजा सञ्चालन प्रभावित हुन नदिन बेलकोटगढी नगरपालिकाले सहयोग पुर्याउँदै आएको छ ।

‘धार्मिक परम्परा धान्न समस्या भइरहेको अवस्थामा सामूहिक जमरा राख्न स्थानीयवासीको सामूहिक प्रयास अनुपम नमूना छ,’ नगरप्रमुख गुरुङले भने, ‘पछिल्ला वर्षमा बेलकोटगढी नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर आर्थिक सहयोग उपलब्ध गराइ पूजा सञ्चालनमा सहज बनाउन कोसिस गर्दै आइरहेको छ ।’ बेलकोटस्थित पाण्डे गाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजार गाउँ, मैदानटोल, गैरीगाउँका स्थानीयले दशैँका लागि जमरा सामूहिक रुपमा निरञ्जना भगवती मन्दिरमा राख्ने गरेका छन् ।

मन्दिरका उपासे सन्दीप रानामगरका अनुसार सामूहिक जमरा राख्ने धार्मिक परम्परा २५० वर्षभन्दा पुरानो मानिन्छ । सामूहिक जमरा राख्ने धार्मिक कार्यक्रममा नगरप्रमुख गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, विभिन्न वडाको वडाध्यक्ष सहितको जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्