Logo

पूर्वसूचना हुँदा पनि सरकारले नागरिकको ज्यान बचाउन सकेन, मलाईमात्रै होईन, आम नागरिकलाई पनि चित्त बुझेको छैनः कांग्रेस नेता विश्वकर्मा



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको पूर्व सूचनाअनुसार काम नगर्दा बाढी पहिरोमा ठूलो क्षति भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुने पूर्व जानकारी हुँदा पनि नागरिकहरुलाई बचाउन नसकिएको उनले बताए ।

‘हाम्रो मौसम विज्ञानले दिनै तोकिदिएको थियो । बिहीबार, शुक्रबार, शनिबार र आइतबार चार दिनसम्म अति भारी वर्ष हुँदैछ र यसमा केही रेड जोनहरु पनि छुट्याइदिएको थियो । नेपालको मौसम विज्ञानप्रति विश्वास गरेर, भर परेर नेपाल सरकारको सुरक्षा निकायहरु र प्राकृतिक प्रकोपबाट नेपाली नागरिकलाई बचाउने संरचनाहरु र जनशक्तिहरु थिए । तिनले जति भूमिका खेल्नुपर्ने थियो, अहिले हामी सबैको मनमा लागेको छ भनेजति भूमिका खेलेनन्,’ उनले भने ।

त्यस्तै, लामो दुरीको यात्रा नगर्नु भनेर सरकार पन्छिएको उनको आरोप छ । सरकारले लामो दुरीको यात्रामा नगर्नु भनेपछि गाडीहरु रोक्नेतर्फ ध्यान दिन चुकेको उनको भनाइ छ । ‘गाडीहरु रोकेको भए झ्याप्ले खोलामा अचानक त्यति ठूलो क्षति बेहोर्नु पर्दैन थियो । मुग्लिनमा रोक्न सकिन्थ्यो, नौविसेमा रोक्न सकिन्थ्यो । तर, विभिन्न ठाउँमा रोक्नुपर्ने कामहरु के कारणले रोकिएन,’ उनले भने ।

सरकारले विपदको समयमा जति गर्नुपर्ने हो गर्न नसकेपनि नेपाली सेना र प्रहरी र सशस्त्र प्रहरीले भूमिका भने प्रसंशनीय रहेको उनले बताए । सरकारको नेतृत्व, प्राधिकरणको नेतृत्व, कर्मचारीको नेतृत्व बाहिर रहेको अवस्थामा बाढी पहिरोसहितको विपत्ति आएको उनले सुनाए । यस्तो अवस्थामा पनि सेना, प्रहरीलगायत सुरक्षा निकायले पाँच हजारभन्दा धेरैलाई उद्धार गरेको उनको दाबी छ ।

सरकारको निकायबाट भएका कामहरुलाई केही पनि भएन भन्न नमिल्ने उनले बताए । नख्खुको टिनको छानामा भएका मानिसहरु बाढी आउँदै छ भाग्नुस् भनेर धन्दा पनि अटेर गरेर बसेको उनको आरोप छ । परिस्थितिजन्य घटनालाई लिएर सरकारले केही पनि गरेन भन्न नमिल्ने उनको भनाइ छ ।

‘नख्खुको टिनको छानामा उभिएका साथी विहानैदेखि त्यहाँ हुनुहुँदोरहेछ । त्यहाँको स्थानीयवासीहरुले बाढी आयो, बाढी आयो भाग्नुस् भने । उहाँ भाग्नुभएन । बचाउनुपर्छ भनेर डोरी लगाएर तरकारीको क्यारेट पठाइयो । उहाँ त्यसमा पस्ने आँट गर्नुभएन । केही समयपछि साथीहरु लिन जानुभयो । उहाँ तल ओर्लिनु भएन । जतिबेला ठूलो बाढी आयो, त्यो घर भत्कियो । उहाँहरु डुब्नुभयो । साथीहरुले चारजनामध्ये तीन जनालाई बचाउनु भयो,’– उनले भने ।

नेता विश्वकर्माले केही ठाउँबाहेक सरकारले राम्रो काम गरेको बताए । सरकारले जति गर्नुपर्ने हो त्यो गर्न नसकेको उनले स्वीकार गरे । यसमा आम नागरि र आफूलाई पनि चित्त नबुझेको उनले सुनाए । ‘मेरो पनि चित्त बुझेको छैन । आम नागरिकको चित्त बुझेको छैन । यो भन्दा राम्रो गर्न सकिन्थ्यो । मौसम विज्ञानले समयमै भनिदिएको थियो । त्यो ठाउँ खाली गर्न सकिन्थ्यो । खाली गर्न कडाई गर्न सकिन्थ्यो,’– उनले भने ।

अब उद्धारको कार्य सकिन लागेको उनले बताए । अब सरकारले वास्तविक पीडितलाई उचित र पर्याप्तमात्रामा राहत पुर्याउनुपर्ने उनले बताए । नेता विश्वकर्माले त्यसपछि सरकारले पुनर्वासको लागि पनि सरकारले सोच्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्