Logo

विपद्पछि सरकार २४ घण्टै ड्यूटीमा छ, तीब्र गतिमा काम भइरहेको छः एमाले नेता ढुङ्गेल



काठमाडौं, १८ असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य कैलाश ढुङ्गेलले बाढी, पहिरोलगायत विपद्जन्य घटनापछि सरकार २४ घण्टै ड्यूटीमा रहेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारले सेना, प्रहरीलगायतका संयन्त्र परिचालन गरेर काम गरिरहेको बताएका हुन् ।

‘अहिलेको सरकार २४ घण्टै ड्यूटीमा छ । म झर्खर रोशी खोला हेरेर आएँ । दोलखा, धादिङतिर पनि हेरेर आएँ । त्यहाँ आफ्नो गक्षअनुसार काम भइरहेको छ । धेरै भन्नुपर्ने अवस्था छैन । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा सेनाले भर्खरे बेलीबृज पुर्याएको छ । रोशी खोलाको भत्किएका ठाउँहरुमा डाइभर्सन बनाउँदैछ । गर्ने कामलाई पनि प्रोत्साहन गर्ने बानी हामीले बसाल्नुपर्छ ।

सरकारले आफ्नो क्षमताअनुसार जनतालाई सेवा प्रदान गर्न काम गरिरहेको उनले बताए । नेता ढुङ्गेलले केही भएको छैन भन्ने भाष्य निर्माण गर्न आवश्यक नरहेको उनले बताए । ‘यतिबेला कांग्रेस–एमालेको सरकार छ । यो सरकार बाढी पहिरोले पारेको प्रभाव क्षेत्रमा गएर सेना, प्रहरी सबै राज्यको अंगहरु परिचालित गरिरहेको छ । उद्धार गरिरहेको छ । बाटो निर्माण सुरु भइरहेको छ । यो आपत्तिको घडीमा दलहरुमा विमत्ति छ भन्ने मलाई लाग्दैन,’– उनले भने ।

साथै, एमाले र एमालेका जनसंगठन युवा संघ, विद्यार्थीहरु बागमतीको तिर, रोशी खोला, धादिङको किनार, मकवानपुरमा सेना, प्रहरी र अन्य दलहरु सँगसँगै हाम्रो दल पनि जनताको पक्षमा दिनरात खटिइरहेका उनले बताए ।



प्रतिक्रिया दिनुहोस्