Logo

हामी जागेको देख्दा कांग्रेस र एमालेको सात्तो गएको छ, ०८४ को चुनाव एक्लै लड्छौं: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताबाट हटेपछि वास्तविक रुपमा जनताको प्रधानमन्त्री बनेको महसुस गर्न थालेको बताएका छन् ।

शनिबार माओवादी केन्द्रले काठमाडौं दोलखा सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू बालुवाटारबाट बाहिरिएपनि अहिले पनि जनताको प्रधानमन्त्री नै रहेको महसुस भइरहने बताए । उनले सत्ताबाट हटेपछि माओवादी र स्वयं आफू पनि निक्कै सक्रिय बनेर पार्टीको काममा लागेको पनि सुनाए ।

‘म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ’ उनले भने ।

फरक प्रशंगमा प्रचण्डले माओवादी जागेको देख्दा ठूला भनिएका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सातो गएको दाबीगरे । उनले आफूहरु आगामी निर्वाचनसम्म जनताको घरघरमा पुग्ने र ०८४ सालको चुनाव एक्लै लडेर आफ्नो पहिचान स्थापित गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । ‘माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग मिलेर जनतामा जाँदा माओवादी हराएको जस्तो लाग्यो । ०८४ सालको चुनावमा हामी एक्लै लड्नेछौँ । माओवादीको पहिचान स्थापित गर्ने संकल्प गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत दोलखाको गौंरीशंकर गाउँपालिकामा जसरी पनि जित निकाल्ने गरी काममा खटिन् कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गौंरीशंकर गाउँपालिकामा कांग्रेसबाट निर्वाचन उपाध्यक्ष श्यामबहादुर तामाङको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रचण्डले सो उपनिर्वाचन पार्टीले एक्लै लड्ने पनि जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्