Logo

ललितपुरमा पानी आपूर्तिका लागि सहयोग गर्न दक्षिणकालीवासीसँग मन्त्री यादवको आग्रह



काठमाडौँ, १९ असोज । खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि र नागरिकहरूलाई ललितपुरका नागरिकको प्यास मेटाउन पानी आपूर्तिका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

आज फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी लिने क्रममा मन्त्री यादवले बाढीले थुप्रै खानेपानी योजनाहरूमा क्षति पुर्‍याएको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको जानकारी दिनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गरेका हुन् ।

“कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नु पर्छ,” उनले भने । मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “तपाईँहरूका समस्या के छन् ? म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु,” उनले भने ।

उनले हालको विपद्‌मा सबै नेपालीले एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्ने पनि बताए। “अविरल वर्षाले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । अहिले हामी सबै विपद्को सामना गर्दै छौँ, नागरिकहरू पानीको अभावमा छटपटाइरहेका छन् । तपाईँसँग पानीको स्रोत छ, त्यसैले तपाईँकै सहयोगले धेरैको जीवन सहज हुनेछ ।”

यस्तै, मन्त्री यादवले बाढी पहिरोले दक्षिणकालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने जानकारी दिए । “म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु ।” उनले भने ।

फर्पिङ र दक्षिणकाली क्षेत्रमा अवलोकन भ्रमण गर्दै मन्त्री यादवले बाढीले पुर्‍याएको क्षति र पानी आपूर्तिका चुनौतीहरूको निरीक्षण गरे । उनले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड-जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल गरेका थिए ।

मन्त्रीले ललितपुर र दक्षिणकाली क्षेत्रमा स्वच्छ र नियमित पानी आपूर्तिको व्यवस्था गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, दीर्घकालीन समाधानमार्फत सबै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको बताए ।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले ललितपुरमा पानीका लागि नागरिकहरू तड्पिइरहेकाले दक्षिणकालीबाट पानी तत्काल पठाइदिन आग्रह गरेकी छन् । उनले भनिन्, “दक्षिणकालीमा बाढी पहिरोका कारण भएका क्षतिका समस्या समाधान गराउनेतर्फ सहयोग गर्न हामी लाग्नेछौँ, पानी पठाउन तपाईँहरू सहयोग गर्नुस् ।”

सोही कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकालीमा खोपानीका पाइप लाइन, मुहानमा भएको क्षतिका समस्या समाधान गर्न ललितपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दक्षिणकालीबाट जाने पानी पठाउन सहयोग गरी दिन अनुरोध गरे ।

कार्यक्रममा दक्षिणकाली नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि लगायतका व्यक्तिहरूले बाढीबाट पुर्‍याएको क्षतिलाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै ललितपुरमा पानी पठाउन आफूहरू तयार रहेको प्रतिबद्धता जर्नाका थिए ।

आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका थिए । भ्रमणका क्रममा हालैको अविरल वर्षाले ल्याएको बाढीले क्षति पुर्‍याएका सुन्दरीजल पानी प्रशोधन केन्द्र, फर्पिङ जलाशय (हेड पण्ड), पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा भएको क्षतिको विवरण लिँदै ती क्षेत्रहरूमा पानी आपूर्तिमा देखिएका समस्या समाधान गर्न आवश्यक कदमहरूको बारेमा स्थानीय जनप्रतिनिधिहरूसँग गहन छलफल पनि गरेका थिए ।

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीहरूको समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाउनु हुँदै मन्त्री यादवले आफ्नो लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनु भएको बताएका थिए ।

सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख, जनप्रतिनिधिलगायतका आम नागरिकले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नागरिकका भएका क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने तथा दक्षिणकालीबाट पानी पठाउनका लागि आफूहरू तयार रहेको जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्