Logo

माओवादीलाई आफ्नै परीक्षण गर्नुछ, २०८४ मा एक्लाएक्लै निर्वाचान लडौंः दीपशीखा (भिडिओसहित)



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले प्रतिगामी संविधान संशोधन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा संविधान संशोधनको सन्दर्भमा कांग्रेस–एमालेमा स्पष्टता नै नरहेको बताइका हुन् ।

नेता दीपशीखाले कांग्रेस–एमालेका केही नेताहरुले संघीयता र समानुपातिक प्रतिनिधित्व हटाउनुपर्छ भनिरहेको र त्यस कुरामा माओवादीको सहमति नरहेको बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने कुरामा भने आफूहरु संविधान संशोधनका लागि तयार रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणाली खर्चिलो, भ्रष्टाचारलाई सहयोग पुग्ने र थेग्न नसकिने अवस्थामा पुगेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विकल्पमा जान उपयुक्त हुने उनको भनाइ छ ।

‘जसले संविधान संशोधनको कुरा गर्नुभएको छ, उहाँहरु कन्फ्यूज हुनुहुन्छ । किन संशोधन गर्ने, के–का लागि संशोधन गर्र्ने ? अग्रगमनको लागि संशोधन गर्ने कि पश्चगमनको लागि संशोधन गर्ने ? यो व्यवस्था, हामी सबैले लडेर, मिलेर ल्याएको व्यवस्थालाई सुदृढ गर्न संशोधन गर्ने कि यसलाई पश्चगामी बनाउन संशोधन गर्ने ? ल्याओस् न सरकारले के–का लागि संशोधन गर्ने ? नगर्ने, विषय नै थाहा नपाई संविधान संशोधन हुन्छ भनेको ?’ उनले प्रश्न गरे ।

साथै, एमाले नेता रामेश्वर फुँयालले माओवादीले अस्थितर चरित्र प्रदर्शन गरिरहेको भनी लगायतको आरोपमा नेता दीपशीखाले प्रतिवाद गरे । अहिले एमाले–कांग्रेस माओवादीकै एजेण्डामा अगाडि बढिरहेको अवस्थामा अस्थिरताको संज्ञा दिनु स्वभाविक नहुने उनको भनाइ छ ।

साथै, आगामी निर्वाचनमा माओवादी एक्लै निर्वाचनमा जान आवश्यक रहेको उनले बताए । माओवादी कांग्रेस–एमाले जुन दलसँग मिलेर निर्वाचनमा जाँदा पनि ती दल भने पहिलो दल बनेको र माओवादी भने हेपिएको जस्तो देखिएको बताउँदै उनले अब आफूहरु परीक्षण हुनका लागि पनि एक्लै निर्वाचनमा जानुपर्ने बताए । ‘२०८४ को निर्वाचन चाहीँ एक पटक आ–आफ्नो परीक्षणहरु गरिहेरौं । हामीलाई हाम्रो आफ्नै परीक्षण गर्नुछ । हामी धेरै हेपिएको जस्तो, थिचिएको जस्तो हामीले कांग्रेस बोक्दा सबैभन्दा ठूलो पार्टी भयो, एमाले बोक्दा एमाले सबैभन्दा ठूलो पार्टी भयो । यो कुरा भुलेर तिमीलाई हामीले बोकेर ल्याएको हो भनेर जे तर्क भइरहेको छ, यसका खातिर पनि हामी २०८४ मा एक्लै निर्वाचनमा जान चाहन्छौं । स्वाभिमानका १० सिट आओस्, हामीलाई केही फरक पर्दैन,’– उनले भने ।

साथै, माओवादीले वर्तमान कांग्रेस–एमालेसहितको सरकार ०८४ को निर्वाचनअघि सम्म नै अगाडि जाओस् भन्ने चाहेको उनले बताए । माओवादी सरकार भत्काउने र बनाउने खेलमा नरहेको पनि उनले प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्