Logo

रविले भनेको मान्नुभयो भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन ओलीजीको च्याँखे होः दीपशीखा



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको विशेष प्रतिवेदनलाई च्याँखेको संज्ञा दिएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई च्याँखेको रुपमा प्रयोग गरेको टिप्पणी गरेका हुन् ।

उक्त प्रतिवेदनको आधारमा सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही गर्ने र कारबाही गर्न नसकिने दुवै ठाउँ राखिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भनेबमोजिम अगाडि बढेको खण्डमा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कारबाही नै नहुने उनको ठोकुवा छ ।

‘संसदीय समितिले बुझाएको प्रतिवेदनलाई चाहीँ म प्रतिवेदन भन्दिनँ । त्यो च्याँखे हो । लङ्गुरबुर्जा खेल्दा साइडमा बसेर च्याँखे थाप्छन् नि, मैले पढेको प्रतिवेदन चाहीँ च्याँखेजस्तो छ । त्यहाँ रविजीलाई कारबाही गर्न पनि मिल्छ, नगर्न पनि मिल्छ । ओलीजीले चलाखीपूर्ण, त्यो प्रतिवेदन चलाखीपूर्ण आएको छ । त्यो प्रतिवेदन च्याँखे हो, रविजीले ओलीजीले भनेको मान्नुभएन भने कारबाही गर्ने, भनेको मान्नुभयो भने कारबाही गर्ने टाइपको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्