Logo

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने झलनाथलाई एमाले नेता भट्टराईले दिए ‘बिकाउ मान्छे’ को संज्ञा (भिडिओसहित)



काठमाडौं, २० असोज । नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका सम्मानित नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो व्यक्तिगत कुण्ठा पोखेको बताए ।

नेता खनालका कुराहरु समाजमा विक्न छाडेपछि उनले पब्लिकलाई आफूतिर तान्न यस्ता अभिव्यक्ति दिँदै आएको बताए । नेता खनालले हिजो प्रधानमन्त्री ओलीलाई एकछिन पनि पदमा बस्ने नैतिकता नरहेको बताएका थिए ।

‘झलनाथजीले माग्नुको अर्थ, व्यक्ति–व्यक्ति, को–को कहाँ–कहाँ मागेका छन् ? तीन करोड जनतामा सबैका कुरा सुन्न गाह्रो हुन्छ । व्यक्तिका आफ्ना आकांक्षा हुन्छन् । व्यक्तिका आफ्ना कुण्ठा छन् । त्यसमा पनि राजनीतिक एउटा तहमा पुगेपछि फर्केर हेर्दा ओरीपरी केही पनि देख्नुहुन्न ।’ उनले भने, ‘ओरीपरी केही पनि नदेखेको, सम्भावना नभएका मान्छेहरु अहिले आएर के अभिव्यक्ति दिने त ? कुनै न कुनै कुराहरु समाजमा विक्नुपर्यो । के भन्दा पब्लिकलाई सुनाउन सकिन्छ ? उट्पट्याङ र चर्का कुराले वातावरण आफूतिर तान्न सकिन्छ भन्ने कुराहरु, एटेन्सन सिकर हुन्छन् । एकथरी मान्छेहरु केही न केही बोलेर आफूलाई बजारमा विकाउ गर्ने त्यो खालको प्रवृतिको जनमत हुन्छ । त्यो खाले मान्छेले बोलेको कुरामा धेरै सिरियस हुनुपर्ने कारण छैन ।’

साथै, नेता भट्टराईले कांग्रेस–एमाले मिल्दा विगतमा पनि ठूला–ठूला आन्दोलनहरु सफल भएको स्मरण गराए । यसपटक कांग्रेस–एमाले मिल्दा पनि देशको पक्षमा काम हुने उनको भनाइ छ । ‘एमाले–कांग्रेस मिल्दा २०४६ सालको आन्दोलन सफल भयो । एमाले र कांग्रेस मिलेरै माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको हो । २०७२ सालमा नयाँ संविधान जारी भएको हो । अहिले मुलुक संकटतर्फ उन्मुख भएको थियो । यसको समाधान पनि एमाले–कांग्रेस मिलेरै निकाल्ने हो । इतिहासमा एमाले–कांग्रेसले निर्णायक भूमिका खेलेका छन्, अहिले पनि यिनीहरुले नै खेल्न सक्छन् भन्ने आम जनमानसमा परेको पनि छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्