काठमाडौँ २० असोज । नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको समेत बताए ।
एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।
सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतका नेताहरु सहभागी थिए ।