Logo

राज्य कमजोर भएको मौका पारेर सहकारीमा असाध्यै विकृति बढेको थियो, कांग्रेस-एमाले सरकारले कारबाही अगाडि बढाइसक्योः प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २१ असोज । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष गरी कांग्रेस–एमाले सरकर बनेको तीन महिना नबित्दै तीन वटा कुराहरुमा निकै प्रगति भएको बताएका हुन् । उनले वर्तमान सरकार बनेसँगै निजी क्षेत्रले सरकारमाथि भरोसा गरेको र अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताए ।

‘मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ । यसको प्रतिबिम्ब पुँजीबजारमा देखिन्छ । त्यो भनेको नेपालको निजी क्षेत्रले लगानीकर्ताले सरकारमाथि गरेको भरोसा हो । लगानीमैत्री वातावरण र निजी क्षेत्रको विश्वास बढ्न थालेको देखिन्छ,’– उनले भने ।

त्यस्तै, लामो समयदेखि टुङ्गिन नसकेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकारले सर्वसम्मत पारित गराएको र अब छिट्टै आयोगहरु बन्ने पनि उनले बताए । आयोग बनेसँगै शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्गिने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै राज्य कमजोर भएको मौका पारेर सहकारी क्षेत्रमा बढेको विकृतिलाई पनि सरकारले नियन्त्रण थालनी गरेको उनले बताए । सहकारी ठगी सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनको आधारमा राज्यले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘राज्य कमजोर भएको मौका पारेर सहकारी क्षेत्रमा असाध्यै धेरै विकृति बढेका रहेछन् । त्यससम्बन्धमा संसदीय छानविन समिति बन्यो । छानविन समितिले निकै मेहनत गरेर रिपोर्ट लिएर आयो र अहिले छानविन समितिको रिपोर्टका आधारमा सहकारीमा अनियमितता गर्नेहरु, अपचलन गर्नेहरुमाथि कारबाही अगाडि बढेको छ,’– नेता ज्ञवालीले भने ।

साथै, कांग्रेस–एमालेसहितको सरकार बनेसँगै अवरुद्ध भएका विकासका कामहरु विस्तारै सुरु हुन थालेको र छोटो अवधिमै सरकारले लय पक्रिएको प्रष्ट रहेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्