Logo

१० दिनमा १३० पसलमा काठमाडौं महानगरको अनुगमन, २२ वटामा म्याद गुज्रिएका सामान भेटिए



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएका छन् । ८२ वटा पसलमा देखिने गरी मूल्य सूची नराखिएको पाईएको महानगरले जनाएको छ । यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइएको छ । ६२ वटाको व्यवसाय दर्ता बिनानै सञ्चालनमा रहेको भेटिएको महानगरले जनाएको छ । दर्ता बिनानै सञ्चालित त्यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको महानगरले जनाएको छ ।

चाडपर्वमा फलफुल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन् । यसतै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएको महानगरले जनाएको छ ।

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप, जाम जस्ता खाद्य तथा पेय पदार्थहरु म्याद सकिएको भेटिने गरेका पाईएको छ । यस्तो अवस्थालाई न्यूनीकरण गर्न अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ ।

उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य रहेको महानगरको भनाइ छ ।

फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो ।



प्रतिक्रिया दिनुहोस्