Logo

आफ्नै घर सम्हाल्न नसक्नेहरू वैकल्पिक राजनीतिका सूत्रधार !



काठमाडौं, २१ असोज । देशमा व्याप्त २४० वर्षीय निरङ्कुश राजतन्त्र र १०४ वर्षीय जहानिया राणा शासनको विरुद्ध जेहाद छेडेर संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा देशलाई हिँडाउने राजनीतिक दलहरु लोकतान्त्रिक बन्न नसक्दा ‘वैकल्पिक राजनीति’ खोजी सुरु भयो । वैकल्पिक राजनीतिको सुरुवात विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाबाट भयो । यद्यपि, परीक्षण हुनै नपाई उनको दुःखद् निधन भयो । उज्जवल थापाको निधनसँगै उनको पदचिन्ह पछ्याउनेहरु पनि विचलित भएर छिन्नभिन्न भए ।

गत् स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल निर्वाचित भएपछि वैकल्पिक राजनीतिको चर्चा उत्कर्षमा पुग्यो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको उक्त परिणामपछि सञ्चारकर्ममा रहेका रवि लामिछाने राजनीतिमा होमिँए । उनले ०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे ।

यता, २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ५ जना, सशस्त्र प्रहरीका २ जना र १ जना नाबालकको ज्यान गयो । उक्त घटनामा मुख्य योजनाकार रेशम चौधरी रहेका थिए । तीनै तहको अदालतले रेशमलाई उक्त घटनाको मुख्य योजनाकार भन्दै अपराधी करार गरेको थियो । रेशमले जेलमै रहेर पार्टी स्थापना गरे । उनले दलको नाम नागरिक उन्मुक्ति पार्टी राखे, अध्यक्ष श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई बनाए । उनले स्थापना गरेको पार्टीले गत २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा राम्रै प्रगति गर्यो । संघीय संसद्मा रञ्जिता, रेशमका बाबु लालवीर चौधरीसहित ४ जना निर्वाचित भए । त्यस्तै, नाउपाले सुदूरपश्चिम प्रदेश सभामा ७, लुम्बिनी प्रदेश सभामा ४ र मधेश प्रदेश सभामा १ सिट जित्यो ।

त्रिशंखु संसद्को फाइदा उठाउँदै रञ्जिताले बार्गेनिङ गरिन्, जसका कारण कर्तव्य ज्यान मुद्दाका दोषी रेशमले आममाफी पाए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिए । रेशम अहिले सकृय राजनीतिमा छन् ।

त्यस्तै, व्याप्त अशिक्षा, गरिबी, शोषण, दमनको विरोधमा मधेशमा चन्द्रकान्त राउत उर्फ सिके राउतको नेतृत्वमा नयाँ दल स्थापना भयो– जनमत पार्टी । जनमत पार्टीले पनि गत प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनमा राम्रै प्रगति गर्यो । जनमत पार्टीका अध्यक्षसमेत रहेका सिके राउत आफू पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्रिशंकु संसद्को फाइदा उठाउँदै तेस्रो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । संसद्मा बहुमत पुर्याउन प्रचण्डलाई सबै साना दललाई बोक्नुपर्ने बाध्यता थियो । प्रचण्डले सिके राउतलाई मन्त्रीको अफर गरे । सिके राउतले आफू मन्त्री नबन्ने भन्दै आफ्नो दलबाट अरुलाई नै पठाए । सिके राउतले मन्त्री पद नै इन्कार गरेको भन्दै धेरैले उनको वाहीवाही गरे ।

गत ०७९ को निर्वाचनपछि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, रवि लामिछाने सभापति रहेको रास्वपा, सिके राउत अध्यक्ष रहेको जनमतलगायतका दललाई धेरैले वैकल्पिक राजनीतिक दलको रुपमा चित्रण गरे । तर, नागरिकले वैकल्पिक शक्तिको रुपमा चित्रण गरेका पात्रहरुले आफ्नो छविलाई लामो समय टिकाउन सकेनन् । उनीहरु विभिन्न काण्ड र घरायसी विवादमा मुछिएका छन् ।

रेशम र रञ्जिताबीचको विवाद

आममाफी पाएर बाहिरिएपछि रेशम र रञ्जिताबीचको सम्बन्ध भने सुमधुर हुन सकेन । पार्टीकै कारण उनीहरुबीचको आन्तरिक विवाद छताछुल्ल भयो । रेशम–रञ्जिताबीचको विवाद मूलधारका मिडियाहरुको ‘मेन न्यूज’ बने । रेशमले आफूले रञ्जिताको कारण महिनौंदेखि खानासमेत नखाएको भनी अभिव्यक्तिसमेत दिए । श्रीमान/श्रीमतीको विवादले नाउपाबाट निर्वाचित सांसद्हरु विभाजित भए । रेशम र रञ्जिताले सांसदहरुबीच छुट्टाछुट्टै ह्वीप जारी गरे ।

तत्कालीन रञ्जिताले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताको फोटो पटक–पटक सार्वजनिक गरेपछि रेशमले ‘आफ्नो घरमा साडीको सप्को मिलाउनुस्, अर्काको घरको साडीको सप्को चुडाउन नथाल्नुस्’ भन्दै सार्वजनिक कार्यक्रममै बोले । यद्यपि उनीहरुबीच उत्कर्षमा पुगेको विवाद अहिले सम्हालिएको छ ।

सिके राउत र उनकी श्रीमतीबीचको विवाद

प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पद अस्वीकार गरेका सिके राउतलाई धेरैले मन पराए । तर, अहिले उनी र उनीकी श्रीमतिबीचको विवाद उत्कर्षमा छ । ललितपुर जिल्ला अदालतमा अहिले उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा विचाराधीन छ । राउतले दायर गरेको फिरादलाई च्यालेन्ज गर्दै उनकी श्रीमती सोनी सिन्धु रानीले प्रतिउत्तरसमेत फिराइसकेकी छन् । सोनी सिन्धुले प्रतिउत्तरमा उल्लेख गरेका कुरा सही हुन् भने राउतले आफ्नी श्रीमतीमाथि चरम यातना र ज्यादति गरेका छन् ।

सोनीले आफू सम्बन्धविच्छेदको लागि तयार नरहेको बताएकी छन् । उनले आफू पटक–पटक घरेलु हिंसामा परेको र आफूलाई शारीरिक र मानसिक पीडा दिनुमा सिके राउतको भूमिका रहेको उल्लेख गरेकी छन् । प्रतिउत्तर पत्रमा उनले घरेलु हिंसाबाट आजित भएर मर्ने योजना बनाउन बाध्य भएको समेत उल्लेख गरेकी छन् ।

‘मलाई मानसिक, शारीरिक यातना दिनुमा विपक्षी कै ठूलो भूमिका छ । दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले म माथि ज्यादति गर्नुभएको छ,’– उनले फिराद पत्रमा भनेकी छन् ।

सिके राउतले आफूसँग दिनरात निहुँ खोज्ने, कुटपिट, झगडा गर्ने गरेको र घर परिवारका अन्य सदस्यले समेत यस्तो अवस्थामा संरक्षण नगरेको उनको भनाइ छ । साथै, सिके राउतले आफूलाई पाँच वर्षसम्म ‘तिमीलाई डिप्रेशन छ’ भन्दै डिप्रेशनको औषधि खुवाएको समेत उनको आरोप छ ।

जान्नेलाई छान्ने नारा लिएर उदाएका केही नजान्ने रवि

रवि लामिछाने नेतृत्वको रास्वपाको स्लोगन हो– ‘जान्नेलाई छान्ने ।’ ‘जान्नेलाई छान्ने’ नारा लिएर रास्वपामा युएनडीपी र वर्ल्ड बैंकको जागिर छाडेर नेपाल फर्किएका डा. स्वर्णिम वाग्लेदेखि सुमना श्रेष्ठसम्म सांसद बने । यद्यपि, लामिछाने व्यक्तिगत जीवन र राजनीतिक जीवनमा स्वच्छ भने रहन सकेनन् । लामिछानेविरुद्ध अहिले पनि अमेरिकामा आर्थिक अपराधका धेरै मुद्दा रहेको छ । उनी नेपालमा पनि आर्थिक अपराधबाट जोगिन सकेनन् । लामिछानेले वैबाहिक जीवनमा पनि डिभोर्सका धेरै श्रृङ्खला भोगेका छन् । निकिता पौडेल लामिछानेकी तेस्री श्रीमती हुन् ।

यता, उनी सहकारी ठगी प्रकरणमासमेत मुछिएका छन् । संसदीय छानविन विशेष समितिले लामिछानेलाई सहकारीबाट आएको पैसा परिचालनमा दोषी ठहर गरेको छ । गोर्खा मिडियामा लामिछानेको जतिकै हैसियत रहेका पूर्व डीआईजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन् । छविलालको भन्दा बढी संलग्नता पुष्टि हुने आधार रहेका लामिछाने भने खुलमखुल्ला राजनीतिमा छन् । लामिछानेले आफूमाथि लागेको सहकारी ठगीको आरोप, नागरिकता प्रकरण, दोहोरो राहदानीलगायतका विषयमा ‘मलाई थाहा छैन’ भन्ने रेडिमेट जवाफ दिइरहेका छन् । त्रिशंखु संसद्ले उनलाई विकल्पको रुपमा संरक्षण गरिरहेको छ ।

व्यक्तिको निजी जीवन उल्लेख गर्नु सोभनीय होईन । यद्यपि, यहाँ उल्लेख गरिएका पात्रहरुको निजी जीवनमाथि चासो हुनु स्वभविक नै हो । वैकल्पिकको नारा लिएर राजनीतिमा आएको उनीहरु अहिले संसद्मा विकल्पको रुपमा छन् । ‘विहानले दिनको संकेत गर्छ’ भनेझै यी पात्रहरुको वैकल्पिक राजनीति दुर्घटनामा परिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्