Logo

धवलशमशेरलाई जिम्मेवारीबाट हटाएको भन्दै लिङ्देनसँग पशुपति शमशेरको असन्तुष्टि



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष पशुपतिशमशेर जबराले पार्टीमा उत्पन्न विवाद सामान्य रहेको बताएका छन् । जिम्मेवारी हेरफेर गर्दा एउटा पक्षलाई अन्यया भएको भन्दै असन्तुष्टि सुनिन लागेपछि राणालाई भेट्न पुगेका युवा नेताहरुसँग उनले सो कुरा बताएका हुन् ।

पार्टीमा जिम्मेवारी हेरफेरको विषयलाई लिएर आरोप प्रत्यारोप भएपछि अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा दुबैपक्ष पशुपतिशमशेरको निवासमै पुगेर भेटवर्ता गरी समस्या समाधानका लागि भूमिका खेलिदिन अनुरोध गरेका थिए ।।

राजेन्द्र लिङ्देनले पार्टीमा मनोमानी गरेको धवल पक्षको आरोप छ भने लिङ्देन पक्षले अध्यक्षलाई कमजोर बनाएर पार्टीलाई कमजोर बनाउने गतिविधिमा लागेको आरोप लगाइरहेका छन् ।

पुर्व अध्यक्ष पशुपति शमशेरले भने जिम्मेवारी हेरफेर स्वभाविक प्रक्रिया भएको र अध्यक्षको अधिकार भित्रको कुरा रहेको बताएका छन् । उनले महामन्त्री धवल क्यान्सर जस्तो गम्भीर रोग भएर उपचाररत रहेको अवस्थामा जिम्मेवारीबाट अलग नगरेको भए हुन्थ्यो भन्ने राय राखेको स्रोतले जनाएको छ । उनले आरोपप्रत्यारोप नगर्न र दशैंपछि छलफल गरेर निकास निकाल्ने वचन कार्यकर्तालाई दिएका छन् ।

छलफलमा सहभागी केन्द्रीय सदस्य रवि किरण हमालले पार्टी र एजेन्डा प्रति आकर्षण बढिरहेको बेला विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने र पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी दिए ।

‘म पनि छलफलमा सहभागी थिए । सबैको कुरा सुन्ने अवसर मिल्यो । पाका नेता पशुपतिशमशेरसँग पहिलोपटक छलफल गर्ने अवसर प्राप्त गरे तर त्यति ठुलो विवाद छैन । हामी सबै मिलेर समस्या समाधान गर्छौ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्