Logo

रवि लामिछाने छिट्टै जेल पुग्ने कांग्रेस नेता शिवाकोटीको दाबी (भिडिओसहित)



काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गोर्खा मिडियाको पुँजी नै ठगी, किर्ते र जालसाँझी गरेर ल्याइएको बताए ।

लामिछानेमाथि सहकारी ठगीमा मात्रै नभएर किर्ते, ठगी, जालसाँझी, संगठित अपराधजस्ता विषयमा समेत संलग्न रहेको उनले बताए । संसदीय समितिको प्रतिवेदनले यी विषयलाई पुष्टि गरेको उनले बताए । लामिछानेले आफूमाथि लागेको आरोपमा क्लिन चिट पाएको भनेर भन्न पार्टीमा ह्विप नै जारी गरेको उनले बताए ।

‘संलग्नता भएको, नभएको भन्ने कुरा संसदीय छानविन समितिले पनि देखाएको छ । प्रहरीको अनुसन्धानले पनि अहिले त्यो कुरा देखाइरहेको छ । उहाँ यो सहकारी ठगीमा मात्रै होईन बाहिरै बसेर सहकारी ठग्ने धन्दामा लाग्नुभएको छ । दोस्रो उहाँ एमडी भएर सञ्चालन भएको कम्पनी गोर्खा मिडिया जुन छ, त्यो गोर्खा मिडियाको बिउ पुँजी नै ठगी, किर्ते, जालसाँझी र संगठित अपराधबाट जुटाइएको देखिन्छ,’– उनले भने ।

साथै, सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको विशेष प्रतिवेदनलाई कार्यान्वयन नगरी रद्दिको टोकरीमा फाल्ने काम भयो भने त्यो वर्तमान सरकारका लागि सबैभन्दा ठूलो दुर्भाग्य हुने उनको चेतावनी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लक्षित गर्दै उनले संसदीय छानविन विशेष समितिले प्रतिवेदन दिएको आधारमा छविलाल जोशीलाई हिरासतमा राख्ने र पपुलारिटीको आधारमा अर्कोलाई छोड्ने छुट कानुनी राज्यमा नहुने उनले बताए ।

‘संसदीय छानविन समितिले आफ्नो प्रतिवेदन दिएपछि छविलाल जोशी हिरासतमा हुनुहुन्छ । उहाँको अनुसन्धान भइरहेको छ । उहाँको जुन लेवलको त्यहाँ उपस्थिति र संलग्नता छ भनिएको छ, त्यत्तिको संलग्नता भएका मानिसलाई अनुसन्धानको लागि पक्राउ गरेर राखिएको छ । तर, एउटा पार्टी चलाएको छ, पार्टीको सभापति छ, पूर्व गृहमन्त्री छ भन्ने नाममा, उसले कल गर्नेबित्तिकै २÷४ हजार मान्छे सडकमा आउँछन् भन्ने नाममा यो गरिएको हो भने यो सरकार परालको खुट्टीमा बनेजस्तो हो कि भन्ने अवस्था आम नागरिकले त्यो बुझ्छन्,’– उनले भने ।

दुई चार दिन तलमाथि भएपनि रवि लामिछाने जेल जाने उनको दाबी छ । ‘अहिले जुन किसिमले एक्सन भइरहेको देखिन्छ, त्यसले दुई चार दिन तलमाथि होला तर, उहाँ पुग्ने भनेको जेलमै हो,’– उनले भने ।

संसदीय समितिले दिएको प्रतिवेदनको आधारमा लामिछानेलाई पक्राउ गरेर अनुसन्धान अगाडि नबढाउने हो भने नेपालको कानुन र अदालतीय संरचना भंग गर्दिए पनि हुने उनको भनाइ छ । ‘रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगर्ने हो भने कानुन र अदालत भंग गर्दिए हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्