Logo

माओवादीले आसन्न स्थानीय तह उपनिर्वाचनमा कांग्रेस-एमालेसँग गठबन्धन नगर्ने



काठमाडौं, २२ असोज । नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) सहित सत्तारुढ दलसँग गठबन्धन नगर्न परिपत्र गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको विशेष परिपत्रमा एकल रुपमा चुनाव लड्ने तयारी गर्न र सत्तारुढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्न भनिएको छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ । त्यस्तै, उप–निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्न भनिएको छ । यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, रिक्त रहेका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पालिकाअन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गर्न र सहमति हुन नसकेमा पालिका समितिको बहुमतीय प्रणालीबाट छनौट गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्