Logo

बयलगाडाको सिद्धान्त बोक्ने ओली र एमालेलाई संविधान मन परेको छैन, संशोधनको बाहनामा खारेज गराउन चाहन्छन्: प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् ।

बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन् ।

उनले एमाले नेतृत्वलाई संघीयता र गणतन्त्र मन नपरेको बताए ।’एमालेलाई संघीयता र गणतन्त्र धेरै मन परेको छैन, बयलगाडा सिन्द्धान्त हो उहाँ (एमाले नेतृत्व) हरूको’, प्रचण्डले भने, ‘हिजो पनि संसद विघटन होइन, संविधान विघटन हो’ ।

उनले यो सरकार संविधान संशोधनका लागि नबनेको बताए । बरु, आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएकाले नयाँ गठबन्धन बनेको उनको भनाइ छ । ‘यो सरकारको संविधान संशोधन उद्देश्य होइन । सुशासन र भ्रष्टाचारविरुद्ध काम गरेपछि अप्ठेरोमा पर्ने भइयो भनेर बनेको हो,’ उनले भने ।

संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको प्रचण्डको भनाइ छ । संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो । उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए ।



प्रतिक्रिया दिनुहोस्