Logo

एकीकृत समाजवादी फुटाउने चलखेल निरन्तर भइराखेकै कुरा होः जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, २३ असोज । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले आफूहरुको पार्टी फुटाउने चलखेल निरन्तर भइरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अन्य दलहरुले एकीकृत समाजवादी फुटाउन निरन्तर चलखेल गरेर पनि पार्टीभित्रका नेताहरु कसैले पनि विभाजन नचाहेको उनले बताए । नेता खतिवडाले सानातिना असन्तुष्टिहरुलाई विभागन हुन लागेको रुपमा बुझ्न नहुने बताए ।

‘पार्टी फुट्दैन । यदाकदा मान्छेहरुको असन्तुष्टिले पार्टी फुट्छ भन्ने हो भने पार्टी सधैं फुटिरहेको हुन्छ । तर, कुनै घोषित, वैधानिक विभाजन सम्झनु भएको हो भने त्यस्तो कुनै लक्षण मैले देखिराखेको छैन । पार्टी फुटाउनको निम्ति केन्द्रीय कमिटी बैठक बोलाउ भनेर भनिराख्न पर्दैन ।’ नेता खतिवडाले भने,‘पार्टी फुटाउने चलखेल त निरन्तर भइराखेकै कुरा हो । हामीले चलखेलकै बीचमा तीन वर्ष विताइसकेका छौं । चलखेलहरुलाई पराजीत गर्दागर्दै तीन वर्ष बितायौं । अरु धेरै वर्षहरु पनि त्यसरी बिताउने छौं ।’

साथै, एकीकृत समाजवादीका प्रत्येक कार्यकर्तालाई पार्टीका कुरा केन्द्रमा राख्न पाउने र अध्यक्षलाई सुनाउन पाउने अधिकार रहेको उनले बताए । पार्टीभित्र देखिएका मतभेद पनि छलफलका माध्यमबाट टुङ्गिने उनको भनाइ छ ।

वर्तमान सरकारले बाढी पहिरो पीडितका सन्दर्भमा सुरुमा उदासिनता देखाएपनि पछिल्लो समय केही राम्रा निर्णय पनि गरेको उनले बताए । नेता खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बाढी पहिरो पीडितको पक्षमा गरेको निर्णय कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने हेर्न र मूल्याङ्कन गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री ओलीले भने जनतालाई नै अवमूल्यान हुनेगरी अभिव्यक्ति दिने गरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीजीको कतिपय बोली, अभिव्यक्ति, उहाँका तरिकाहरुले चाहीँ के देखाउँछ भने जनतालाई, अन्य राजनीतिक दललाई सबैलाई अवमूल्यान गरेर एक्लैलाई म मात्रै सबै कुरा जान्दछु भनेर उहाँले प्रतिकृया दिइरहनु भएको छ । यो राम्रो जस्तो मलाई लाग्दैन,’– नेता खतिवडाले भने ।



प्रतिक्रिया दिनुहोस्