Logo

कर्मचारीलाई खानेपानी मन्त्री यादवको निर्देशन: दशैँको समयमा अत्यावश्यक काम पर्न सक्छन फोन अफ नगर्नू



काठमाडौँ, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजना गरिएको वडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफुसँग भएको मोवाईल अफ नगर्न निर्देशन दिएकाहुन् ।

उनले भने, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुँने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोवाईल अफ नगर्नु होला ।” मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरेका थिए ।

मन्त्री यादवले भने, “विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितीको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।”

काठमाडौँ उपत्यकामा हिजो मङ्गलबारदेखि बितरण गरिएको मेलम्चीको पानी कुन कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ सो विषयमा निरन्तर अनुगमन गरी पानी बितरण कार्य सूचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

हिन्दुहरुको महान पर्व विजयाँ दशमी, शुभ दिपावली एवं छटपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजयाँ दशमी सबैका लागि राम्रो र सुस्खद रहोस भन्दै मन्त्री यादवले शुभकामना समेत प्रदान गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव, विभागका, केयुकेएलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्