Logo

दसैंमा ८ लाखले छाडे काठमाडौं, अझैँ २ लाख बाहिरिने आँकलन



काठमाडौँ, २४ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

महासङ्घका अध्यक्ष विजय स्वाँरले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,’ उनले भने, ‘उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।’

उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । ‘आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ । शुक्रबार पनि बाहिरिन्छन्,’– उनले भने ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्