Logo

सरकारले भाषण, उरन्ठेउला कुरा र विवादमा पर्ने कामभन्दा केही गरेनः कांग्रेस नेता भण्डारी (भिडिओसहित)



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले वर्तमान सरकारले भाषण, उरन्ठेउला कुरा र विवादमा पर्ने कामभन्दा केही गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यतिधेरै अनुभव बटुलेको सरकारले जनताको पक्षमा महत्वपूर्ण निर्णय गर्नुपर्नेमा त्यो हुन नसकेको बताएका हुन् । साथै, काठमाडौं उपत्यकाकै नख्खु खोलामा आएको बाढीमा फसेकालाई त्यति लामो समयसम्म उद्दार गर्न नसक्ने अवस्था लाजमर्दो रहेको उनले बताए ।

‘यो सरकारले यतिधेरै अनुभवहरु बटुलेको छ, केही दिनमै जनताका लागि महत्वपूर्ण निर्णयहरु गर्छ भन्ने थियो । अहिले मैले भाषण, उरन्ठेउला कुरा, विवादमा पर्ने कामभन्दा मैले केही पनि देखिनँ,’– उनले भने ।

तरपनि, मुलुक अस्थिरतामा गयो भने धेरै नराम्रो हुनसक्ने बताउँदै उनले वर्तमान गठबन्धन टुटाउने लाग्न नहुने बताए । उनले सबै नेताहरुले आफ्नो–आफ्नो दल सुद्धीकरणतर्फ लाग्नुपर्ने बताए ।

त्यस्तै, जसरी मृत्युलाई कसैले छोड्दैन, त्यसरी कानुनले पनि कसैलाई छोड्न नहुने उनको भनाइ छ । त्यसरी कानुनको परिपालना गरिएमा नेपाल विश्वकै फरक देश बन्नसक्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले ६० दिनबितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको प्रसंगमा बोल्दै उनले भने, ‘कानुनमा यतिदिनभित्र गर्नुपर्छ भनेपछि कानुनले काम गरे हुन्थ्यो नि । हुती नभएका मान्छेहरुको जमघटजस्तो लाग्यो मलाई । जो अन्यायमा परेको छ, उ पनि बोल्न सक्दैन । जसले अन्याय गरिरहेको उ त्यसै ठूलो भइरहेको छ, उसलाई कानुनले पनि छुँदैन । यदि मृत्युले कसैलाई छोड्दै, कानुनले पनि यो देशमा कसैलाई नछोडेको भए विश्वमै फरक तरिकाले जान्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्