Logo

कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानाडा सम्बन्धमा दरार



क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार छ जना भारतीय कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निष्कासन गरेको थियो ।

यसैगरी भारतले पनि भारतबाट क्यानाडाका कार्यवाहक उच्चायुक्त स्टेवार्ड रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्टलगायत छ जना क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय घोषणा गरेको छ ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी आयुक्त माइक डुहेमले सोमबार भारत सरकारका एजेन्टहरूले गरेका केही आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गरे । उनले क्यानाडाका सम्बन्धित निकायले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै हत्या र हिंसाजन्य आपराधिक कार्यहरूमा उनीहरूको संलग्नता रहेको आरोप लगाए ।

सोमबारको विज्ञप्तिमा भारतले क्यानाडाको कूटनीतिक सञ्चारलाई अस्वीकार गर्दै भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू अनुसन्धानमा ‘चासोका व्यक्तिहरू थिए’ यसलाई ‘निराधार आरोपहरू’ र तथा जस्टिन ट्रुडो सरकारको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ ।

विदेश मन्त्रालय (एमइए) ले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भारतप्रतिको शत्रुता लामो समयदेखि रहेको उल्लेख गर्दै क्यानाडा सरकारले आतङ्ककारीलाई ‘क्यानाडामा भारतीय कूटनीतिज्ञ तथा नेताहरूलाई उत्पीडन र धम्की दिने ठाउँ प्रदान गरेको’ जनाएको छ ।

सन् २०२३ मा हरदीप सिंह निज्जरको हत्यापछि भारत–क्यानाडा सम्बन्ध थप चिसिएको छ भने नियमितका घटनाको शृङ्खलाले दुई राष्ट्रबीचमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरलाई सन् २०२३ जुन १८ मा ब्रिटिस कोलम्बियाको गुरुद्वारा बाहिर गोली हानिएको थियो । जि–२० शिखर सम्मेलनका क्रममा ट्रुडोसँगको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडामा भएका भारतविरोधी गतिविधिहरूबारे चिन्ता व्यक्त गर्दै खतराहरूको सामना गर्न एक आपसमा सहयोग गर्न आवश्यक रहेको बताएका थिए ।

सन् २०२३ को सेप्टेम्बर १८ मा ट्रुडोले हाउस अफ कमन्समा गुरुद्वारा बाहिर हरदीप निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको खुलासा गरेका थिए । त्यसपछिको समयमा भारतले यस मुद्दामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ । विदेश मन्त्रालयले लिखित जवाफ दिँदै क्यानडाले भारतविरोधी तत्वलाई निरन्तर स्थान दिएको जनाएको छ ।

क्यानाडाले हालसम्म निज्जरको हत्याको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गरेको छैन । ट्रुडोले गत जुनमा निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएपछि भारतले क्यानाडामा आफ्नो भिसा सेवा पनि निलम्बन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्