Logo

जग्गा दान लिएर प्रधानमन्त्री ओलीले नीतिगत भ्रष्टाचार गर्नुभयोः कांग्रेस नेता खतिवडा (भिडिओसहित)



काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नीतिगत भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । आज (बुधबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम टाइम्समा संवाद गर्दै उनले व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी अफिस बनाउन १० रोपनी १४ आना जग्गा लिएर नीतिगत भ्रष्टाचार गरेको बताएका हुन् । उक्त कार्यले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङ दुवैका शाख नबढाउने उनको भनाइ छ ।

‘पार्टीमा जान पाइन्छ, लाग्न पाइन्छ । केपी ओली प्रधानमन्त्री नभएको बेला गरेको भए हुन्छ । एक किसिमले यो उपहार, घुस जे भने पनि नीतिगत भ्रष्टाचार नै हो । म प्रधानमन्त्रीज्यूको गठबन्धनमा छु । गठबन्धन टिकाउने पक्षमा छु । तर, गलत कामलाई गलत भन्न मलाई हिचकिचावट छैन । उहाँ नेकपा (एमाले) को अध्यक्षमात्रै हुनुहुन्न अहिले प्रधानमन्त्री पनि हो,’– उनले भने ।

प्रधानमन्त्री ओलीको यस्तो कामले जनतामा निराशा उत्पन्न हुने उनले बताए । स्थायित्व, समृद्धि, विकास र स्थिरताको बाटोमा लान भनेर दुईवटा ठूला राजनीति दलहरु गठबन्धन गरेर गएको बेलामा यस्तो गर्नु उपयुक्त नहुने उनले बताए । उनले अब कीर्तिपुरमा बन्ने एमाले पार्टी भवनलाई ‘मिन भवन’ नाम राख्न सुझाए ।

साथै, एमालेले अहिलेसम्म विभिन्न विवादास्पद व्यक्तिहरुसँगको मिभिभगतमा पार्टी अफिस बनाउँदै आएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्