Logo

प्रहरी समायोजन ऐन जारी गर्न मुख्यमन्त्री सिंहको आग्रह



काठमाडौं, ३० असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई प्रहरीको सञ्चालनमा समस्या आएको बताएका छन् । ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ६९औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी समायोजन ऐन जारी नहुँदा प्रदेश सरकार समस्यामा रहेको बताएका हुन् ।

“मधेस प्रदेशमा करिब ६२ लाख जनसङ्ख्या रहेको छ । यहाँको सुरक्षामा प्रहरीले गरेको भूमिका महत्वपूर्ण रहेको छ तर हामीसँग ऐन छैन, नीतिगत रुपमा काम गर्न सक्दैनौँ,”– उनले भने ।

प्रदेशमा लागुऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट तथा चोरी, डकैती, साइवर अपराध रोक्न प्रदेश सरकारका लागि ठूलो चुनौतीका रुपमा रहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरी सङ्गठनले कडा रुपमा लाग्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

उनले प्रहरी समायोजनसम्बन्धी ऐन नआए पनि प्रदेश सरकार तथा स्थानीय निकायले नेपाल प्रहरी सङ्गठनलाई सक्दो सहयोग गरेकोसमेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्