Logo

ओलीले भाउ नदिएपछि एकीकृत समाजवादीमा जाँदै वामदेव, माधवसँग निर्णायक वार्ता चल्दै



काठमाडौं । राष्ट्रिय एकता अभियानको संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा जुटेका छन् । तत्कालीन नेकपाको विघटन र एमाले विभाजनपछि आफ्नै नेततृ्वमा एकता अभियान सञ्चालन गरेपनि कुनै प्रगति नभएपछि उनी आफ्नो अभियानलाई विश्राम दिने मनस्थितिमा पुगेका हुन् ।

लामो समयदेखि नेकपा एमालेमा जान खाजेका गौतमलाई एमालेले भित्र्याउन चाहेको छैन् । प्रधानमन्त्रीसमेत रहेर्का एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी प्रवेशका लागि हारगुहार गरेका उनलाई ओलीले कुनै भाउ दिएका छैनन् । पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इन्चार्ज बनाउन माग गर्दासमेत ओलीले नमानेको गौतमले दाबी गर्दै आएका छन् ।

एमाले नेतृत्वले आफूलाई भित्र्याउन नचाहेपछि एमालेबाटै टुक्रिएको नेकपा एसमा प्रवेश गर्ने मनस्थिति गौतमले बनाएका हुन् । गौतमले आज पार्टी प्रवेशका लागि एसका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्तागर्ने भएका छन् । गौतमसँग वार्ता गर्ने निर्णय एकीकृत समाजवादीले यसअघिनै गरिसकेको छ ।

पार्टी जिम्मेवारीका निम्ति कार्यविभाजन गर्न गठित कार्यदलको बुधवार सम्पन्न बैठकले बामदेवलाई एकीकृत समाजवादीमा ल्याउन वार्ता गर्ने निर्णय गरेको थियो । कार्यदल अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठन भएको छ । त्यसमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका सात पदाधिकारी छन् ।

गौतमलाई नेकपा (एस) ले वरिष्ठ नेताका रूपमा पार्टीमा प्रवेश गर्न आग्रह गर्दै आएको छ । गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता माग गर्दै आएका छन् ।

२०७८ भदौ १८ गते दोस्रोपटक एमाले छाडेका वामदेव अहिले नेकपा एकता महाअभियानका संयोजक छन् । २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ पुस ७ गते फुट्यो । एमाले-माओवादीबीच पुन: एकता हुनुपर्ने माग गर्दै आएका उनले पछि नेकपा एकता महाअभियान नै घोषणा गरे ।

एकता महाअभियान अहिले राजनीतिक रूपमा पूरै निष्क्रिय छ । उनी भने पुन: एमाले फर्किन तम्तयार छन् । उनले अध्यक्ष ओलीलाई ‘कहिले बोलाउनुहुन्छ, आइहाल्छु…’ भनेर भन्ने गरेका छन् ।पहिल्यै पनि खासै भाउ नदिइरहेका ओलीले प्रधानमन्त्री बनेयता समयसमेत दिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्