काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले क्लिन चिट दियो भनेर जनतामा भ्रम छरिरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय छानविन विशेष समितिले लामिछानेलाई क्लिन चिट नदिएको दाबी गरे । उनले लामिछानेले पार्टी बनाउने बेलामा पनि जनतालाई ढाँटेको र अहिले पनि ढाँटिरहेको बताए ।
‘आफैं निर्दोष छु भनेर हुन्छ । उनलाई संसदीय छानविन समितिले निर्दोष भनेको छैन । उनले जनतालाई ढाँडेर नै राष्ट्रिय स्वतन्त्र पार्टी बनाए । कांग्रेस र एमालेले देश बर्वाद बनायो, जनतालाई ठग्यो भनेर । अहिले त देखिइसक्यो नि जनताको अर्बौं रुपैयाँ रवि लामिछानेलगायतले कसरी खाए ? जनताको सामू आइसक्यो । उनीहरुको प्रजातन्त्र ल्याउनुमा लगानी छैन, आर्थिक विकासमा लगानी छैन । गफ गर्नु छुट्टै हो । गफ दिएर जनतालाई भ्रममा पारेर पार्टी बन्छ ? पार्टी बन्न संघर्षबाट स्थापित हुनुपर्छ,’– उनले भने ।
सहकारी ठगहरुबाट बचतकर्तालाई रकम फिर्ता गराएरै छाड्ने उनले बताए । यस प्रकरणमा कोही पनि नउम्किने उनले बताए । नेता यादवले प्रधानमन्त्री स्वयं बचाउमा लागेपनि सहकारी ठगी प्रकरणका दोषीहरु कोहीले उन्मुक्ति नपाउने बताए ।
साथै, उनले नेकपा (एमाले) सर्वहार वर्गको पार्टीबाट पुँजीपतिको पार्टी बनेको टिप्पणी गरे । व्यवसायी मिनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालय बनाउन काठमाडौंको चन्द्रागिरीमा १० रोपनी १४ आना जग्गा दान दिएको विषय उल्लेख गर्दै उनले अब एमाले गरिबहरुको पार्टी नरहेको बताए ।
‘एमालेका नेताहरुले संगठित कार्यकर्ताबाट पैसा लिएर बनाएको भए अझ राम्रो हुनेथियो । कसैले यत्रो ठूलो दान कसरी दियो ? त्यहाँ त प्रश्न उठ्छ । अब के बुझौं भने एमाले पनि पुँजीपतिको पार्टी हो । अब गरिबको पार्टी एमाले रहेन । उहाँहरुले नगर्दा राम्रो हुनेथियो,’– उनले भने । File Photo/RN